आज :

माओवादी धारा, कम्युनिष्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी

  • प्रचण्ड

कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा छ ।

कमरेड लेनिनकै जन्मदिन पारेर नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसको परिवेश जसरी विश्व सर्वहारा क्रान्ति अगाडि बढ्दै थियो, दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलनहरु पनि अगाडि आउँदै थिए । त्यस्तो परिवेशमा र अझ चीनको जनवादी क्रान्ति सम्पन्न भएर विश्व शक्ति सन्तुलन नै सर्वहारा वर्गको पक्षमा जनता र क्रान्तिको पक्षमा देखा पर्न थालेको परिवेशमा र हाम्रै यस क्षेत्रमा पनि कम्युनिष्ट आन्दोलन खास गरी हिन्दुस्तानमा तेलंगना सशस्त्र विद्रोहजस्ता ऐतिहासिक विद्रोहहरु अगाडि बढ्दै गरेको निकै सकारात्मक र उत्साहवद्र्धक परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसर्थमा एउटा असाधारण क्रान्तिकारी परिवेशमा २००६ मा कम्युनिष्ट पार्टी गठन भयो ।

पार्टी निर्माण र पुनर्निर्माणको प्रक्रिया

विकासको आफ्नो द्वन्द्वात्मक नियमअनुसार पार्टीभित्र थुप्रै वैचारिक संघर्षहरु भए, मतभेदहरु भए, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महान विवादको असर नेपालको कम्युनिष्ट आन्दोलनमा प¥यो । र, २०१९ सालमा तेस्रो महाधिवेशन सम्पन्न भएपछि पार्टी विभाजित हुन पुग्यो । विभिन्न टुक्रामा तल तल इलाकीय स्तरमा क्रियाशील हुने स्थिति बन्यो । फेरि पछि विकासकै नियम अनुसार नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र वर्गसंघर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँगै पार्टी पुनर्गठनका विभिन्न प्रयासहरु भए । ती प्रयासहरुमध्ये पनि तीन वटा प्रयासहरु अलि दीर्घकालीन र रणनीतिक महत्वका भए । एउटा कमरेड पुष्पलालले शुरु गरेको पार्टी पुनर्निर्माणको प्रयास, एउटा केन्द्रीय न्यूक्लियसमार्फत् चौथो महाधिवेशन हुँदै त्यो न्यूक्लियसको तर्फबाट अगाडि बढाइएको पार्टीको पुनर्निर्माणको प्रयास र अर्काे कोअर्डिनेसन केन्द्र र झापा विद्रोह हुँदै पार्टी पुनर्गठनको प्रक्रिया अगाडि आए । र त्यो प्रक्रियासँगै कम्युनिष्ट आन्दोलन फेरि उभारतिर अगाडि बढ्दै गयो ।

चाहे त्यो २०३६ सालको जनआन्दोलनको क्रम होस् या ०४६ सालको पञ्चायतमाथि निर्णायक आन्दोलन गर्ने ऐतिहासिक जनआन्दोलनको क्रम होस् कम्युनिष्टहरुको प्रभाव र भूमिका निकै नै प्रभावकारी हुँदै गयो । त्यसमाथि ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि फेरि एकचोटी पार्टी एकीकरण र पुनर्निर्माणका नयाँ प्रयास र पहलकदमीहरु अगाडि बढे । त्यसमा एउटा त माओवादी धारासँग सम्बन्धित कम्युनिष्टहरुको एकताको प्रक्रिया अगाडि बढ्यो । र, त्यो प्रक्रियाका रुपमा एकता केन्द्रको रुपमा हामी अगाडि आयौं भने अर्काेतिर माले र अन्य पार्टीहरु मिलेर एकीकृत माक्र्सवादी र लेनिनवादी भनेर अर्काे एकीकरणको प्रयास पनि भयो । त्यो प्रयाससँगै परिस्थिति जनताले चाहेजस्तो ढंगले अगाडि बढेन ।

नेपालमा क्रान्ति अधुरै छ, अपूरै छ । नेपाली क्रान्तिलाई नयाँ शिराबाट अगाडि बढाउन जरुरी छ भन्ने सोचका साथ माओवादी जनयुद्धको ऐतिहासिक प्रक्रिया अगाडि आयो । साथसाथै संशोधनवाद, अवसरवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी जनआन्दोलन सृष्टि गर्ने प्रयासहरु पनि हुँदै गए । जनयुद्धकै प्रक्रियाभित्र फेरि निरंकुशताका विरुद्ध, सामन्तवादका विरुद्ध फेरि पनि सशस्त्र युद्धमा भएका र नभएका पार्टीहरुको बीचमा फेरि सहकार्यको परिस्थिति बन्यो र त्यो सहकार्यको परिस्थितिले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा असाधारण प्रक्रिया देखा प¥यो । जनयुद्ध र जनआन्दोलन शान्तिपूर्ण जनआन्दोलनका पक्षधर र सशस्त्र जनयुद्ध सञ्चालन गरिराखेका पार्टीहरुका बीचमा समझदारी भएर संयुक्त जनआन्दोलन र जनयुद्ध समायोजन गर्ने ऐतिहासिक र अभूतपूर्व प्रक्रिया पनि नेपालको कम्युनिष्ट आन्दोलनमा देखाप¥यो । र, यो असाधारण प्रक्रियाले नेपालमा केही चिज नितान्त नयाँ बन्यो ।

मैले अहिले व्याख्या गर्न सम्भव छैन । त्यो भनेको के हो भने सामन्तवादका विरुद्ध पुँजीवाद जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य सक्रियता र नेतृत्वमा अन्य बुर्जुवा पार्टीहरुलाई पनि सहमतिमा लिएर आधारभूत रुपमा त्यो क्रान्ति सम्भव हुन गयो । यो दुनियाँमा कमै देख्न पाइन्छ ।
यो क्रान्ति न हामीले विगतमा सोचेजस्तो, सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिका रुपमा नै सम्पन्न हुन सक्यो, न यो फेरि पूरै पुरानो प्रकारको पुँजीपति वर्गको नेतृत्वमा भएको पुँजीवादी क्रान्ति नै भयो । यो सर्वहारा वर्गको मुख्य नेतृत्व, कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व जनयुद्धको मुख्य भूमिकासहित सामन्तवादमाथि निर्णायक प्रहार गरिएको वुर्जुवाहरुलाई पनि एक हदसम्म अंश दिएर सम्झौता गरेर गरिएको नयाँ प्रकारको क्रान्ति भयो । मलाई लाग्छ, हाम्रा बुद्धिजीवी साथीहरुले हाम्रा कम्युनिष्ट आन्दोलनका सबै नेता–कार्यकर्ताहरुले यो पक्षलाई गम्भीर रुपले विचार गर्न जरुरी छ ।

यो हाम्रो ऐतिहासिकता, हाम्रो विशेषता, हाम्रो मौलिकता, हामीले हासिल गरेको उपलब्धिको विशेष स्थितिको बारेमा सबैले चिन्तन मनन गर्न जरुरी छ । अहिले हामी शान्ति सम्झौतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिस्पर्धाको तरिकाद्वारा कम्युनिष्ट आन्दोलनलाई समाजवादी दिशातिर लाने कुरा गरेका छौं । र यही प्रक्रियाभित्र हामीले नै माओवादी केन्द्रकै तर्फबाट अब केही दशक सायद नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति नै अगाडि जान्छ । र वर्गसंघर्ष राजनीतिक संघर्षहरु नयाँ परिवेशमा अगाडि जान्छ भन्ने विश्वासका साथ हामीले अब कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्नुपर्दछ ।

एमालेसँग एकता, संघर्ष र रुपान्तरण

तमाम वामपन्थीहरुलाई एकढिक्का बनाएर समाजवादको आधार निर्माण गर्ने कुरातिर लाग्नुपर्छ भनेर हामीले नै प्रस्तावित गरेर वाम गठबन्धन ग¥यौं । आम नेपाली जनताले बडो उत्साहका साथ त्यसलाई अनुमोदन गरे । हामीले नै कम्युनिष्ट एकता र पार्टी एकताकोे प्रस्ताव ग¥यौं । आम नेता कार्यकर्ताहरुले बडो उत्साहका साथ त्यसलाई स्वागत गर्ने काम भयो । निर्वाचनमार्फत् जनअनुमोदित पनि भयो । र, आम नेता कार्यकर्ताहरुले एकता आजको परिस्थितिमा समाजवादी क्रान्तिका निम्ति जरुरी छ पनि भनियो । र, एउटा ठूलो प्रयोग भनौं, क्रमभंग हामीले ग¥यांै । त्यो सही थियो भन्ने दावी अहिले पनि छ । हामीले त्यसो गर्नु गलत गरेको होइन । यो राष्ट्र, वर्ग र कम्युनिष्टहरुको समग्र हितमा थियो । तर, एकाध नेतृत्वमा देखा परेको विचलनका कारण वैचारिक विचलन, सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले त्यो महान प्रयोग सफल हुन सकेन तर, त्यो महान प्रयोग नै थियो । देशभरिका कम्युनिष्टहरुलाई एकतावद्ध गरेर अगाडि जाने प्रयोग सही थियो । त्यसमा अत्यधिक ठूलो संख्याको जनता र कम्युनिष्टहरुको समर्पण नै थियो । तर दुर्भाग्य के भयो भने पार्टी नेतृत्वमा जसलाई हामीले प्रधानमन्त्रीको रुपमा अगाडि सा¥यौं, उनमा देखापरेको गैर–माक्र्सवादी, गैर–कम्युनिष्ट चरित्र र चिन्तनका कारणले प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो ।

मैले आज पार्टी स्थापनाको दिवसको यो ऐतिहासिक दिनमा ती कुरालाई स्मरण गर्दै गर्दा के सम्झाउन चाहन्छु भने म बढो खुशी थिएँ, पार्टीको केन्द्रीय समितिकोे दोस्रो बैठक चलिराखेको थियो नेकपाको । मैले त्यसको कार्यकारी अध्यक्षता ग्रहण गर्ने र कार्यकारी अध्यक्षको हैसियतले बैठक सञ्चालन गर्ने, दस्तावेज प्रस्तुत गर्ने, निर्णय गर्ने पहल गरेको थिएँ । पाँच दिन चलेको त्यो बैठकले अब यो कम्युनिष्ट एकता सुदृढ भयो, अब नेपाली क्रान्ति नयाँ ढंगले जान्छ भन्ने विश्वास पैदा गरेको थियो । के माओवादी पृष्ठभूमिका के एमाले पृष्ठभूमिका ९० प्रतिशतभन्दा बढी नेताहरुको अनुहारमा त्यसले उज्यालो दिलाएको थियो ।

अब नेपालको कम्युनिष्ट राजनीति नयाँ शिराबाट अगाडि जान्छ । नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडि जान्छ भन्ने आत्मविश्वास सबैलाई पैदा भएको थियो । तर दुर्भाग्य ! त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु व्यक्तिवादी र अहंकारी प्रवृत्तिलाई त्यो सैह्य भएन । केन्द्रीय कमिटीको बैठकको त्यो सफलता साँच्चै उनीहरुका निम्ति आतंकजस्तै भयो । र, यो पार्टी साँच्चै एकतावद्ध भएर जाने भयो, यो पार्टीले क्रान्तिकारी चरित्र बोकेर जाने भयो र नेतृत्वको हैसियतले प्रचण्डकै नेतृत्व स्थापित हुने भयो भनेपछि त्यसै विन्दुबाट निकै ठूलो षडयन्त्र सुरु भयो ।

पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन । त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षड्यन्त्रको रुप दिइयो । र त्यो षड्यन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूला–ठूला सेटिङहरु भए । हामीले ठूलो बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने ढंगले संवैधानिक त्यस्ता अंगहरुसँग समेत सेटिङ भएको देखाप¥यो । त्यो दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा त्यो एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुदृढ हुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो ।

नीति र नेतृत्वको सवाल

आज यो मञ्चबाट म नेकपा एमालेका ती हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ती हजारौं कार्यकर्ता, म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ । एमाले पृष्ठभूमिका नेता–कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने बित्तिकै सबै खतम छन् भनेर नसोच्न आग्रह गर्न चाहन्छु– त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् । तर हुँदो के रहेछ भने लिडरसीप भन्ने कुरा निकै ठूलो कुरा हुँदो रहेछ । लिडरसीप गलत मान्छेको हातमा गयो भने इमान्दार कम्युनिष्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ । त्यो हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौं ।

चाहे रुसमा भएको प्रतिक्रान्तिको कुरा गरौं या अन्य पूर्वी युरोपका देशमा भएका प्रतिक्रान्तिको कुरा गरौं । लिडरसीपको कारणले नै इमान्दार कम्युनिष्टहरुको बाहुल्य तल पार्टी पङ्तिमा हुँदा हुँदै पनि लिडरसीपले गलत लाइन लिइसकेपछि इमान्दार कम्युनिष्टहरु पनि कही न कही त्यसको शिकार हुने खतरा हुँदो रहेछ । त्यसकारण म आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरु जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो– अहिले पनि हुनुहुन्छ, कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नु हुन्छ, भनिराख्नुभएको छ– उहाँहरुलाई गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरि एक चोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु छ, फेरि हामीले नेपालको समाजवादी आन्दोलनलाई नयाँ चिराबाट अगाडि बढ्ने वातावरण बनाउनु छ भन्ने उत्प्रेरणा, ऊर्जा आजको दिनले सबैलाई दिओस् भन्ने भन्ने अपिल गर्न चाहन्छु । र, त्यसका लागि अझ म हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पूरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । आउनुस्, अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यता र मुद्दाहरु उल्ट्याउने षडयन्त्र भइराखेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घर दैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिले पनि यो देशका महिला, दलित, आदिवासी, मधेसी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु यो परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ, फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइराख्या हो । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु ।

म आज अलिकति हर्षित र खुशी छु । यो प्रक्रियामा पोहोर सालदेखि प्रतिगमन विरोधी प्रतिक्रान्ति विरोध जो आन्दोलन गर्ने र त्यसमा सहभागी हुने हामी सबैलाई अवसर भनौं एक खालको चुनौती दुईवटै थियो, हामीले त्यसलाई सदुपयोग ग¥यौं र प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त हामीले तत्कालीन रुपमा गरेकै हो । अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो या अग्रगमनले । परिवर्तनका पक्षधरहरुको जीत हुने हो या परिवर्तन विरोधीहरुको । यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनताको जीत हुने हो या ती जनतामाथि शासन गर्ने सामन्ती प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिको जीत हुने हो भन्ने कुराको फैसला हुँदैछ । त्यसकारण यतिबेला हामी परिवर्तनका मुद्दाहरुलाई स्थापित गर्न हाम्रा महान् सहिदहरु, बेपत्ता यौद्धाहरु, घाइते अपाङ्गहरु सबै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र सबै न्यायपूर्ण आन्दोलनका सहिदहरुका सपनालाई पूरा गर्न हामी एकजुट भएर यो लडाई हामीले जित्नु छ । जित्नै पर्छ । हामीले जित्दा राष्ट्रले जित्छ, मुद्दा परिवर्तनका मुद्दाले जित्छ ।

नेपालमा सयौं वर्षदेखि उत्पीडन, शोषण, अत्याचारमा परेका जनताको जीत हुन्छ । हामीले हाम्रा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने प्रतिक्रान्तिले जित्ने स्थिति बन्ने खतरा हुन्छ । त्यसकारण पनि आजको दिन प्रतिगमनविरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्दछौं । म सबै समक्ष यही अपिल गर्न चाहन्छु । म खुशी यसर्थ पनि छु कि विभिन्न अनुभव, ठक्करको बीचबाट फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र बडो उत्साहपूर्ण धु्रवीकरणको प्रक्रिया सुरु भएको छ । दिनदिनै जसो एकाध व्यक्तिको रुपमा होइन सयौं र हजारौंको संख्यामा र संख्या मात्रै होइन संस्थागत रुपले नै हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रमा, मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै प्रक्रिया आज नेपालमा सुरु भएको छ । मलाई थाहा छैन, तपाई कमरेडहरुले यो कुरालाई कत्तिको गहिरो गरी हेर्नुभएको छ ? विचार गर्नुभएको छ ? त्यो क्रम पूर्वदेखि पश्चिमसम्म सबैतिर अहिले निकै व्यापक रुपमा अगाडि बढेको छ ।

माओवादी धारा एकतावद्ध होऔं

सुदूरपश्चिममा हिजो मात्रै ठूलो संख्यामा विगतमा विभाजित भएका नेता, कार्यकर्ताहरु संस्थाकै रुपमा पार्टीमा एकतावद्ध हुने, ध्रुवीकृत हुने निकै उत्साहको वातावरण बन्यो । कतिपय जिल्लाहरुमा हामी २०६४ तिर फर्कियौं सम्पूर्ण माओवादी क्रान्तिकारीहरु सबै एकै ठाउँमा भयौं भनेर उहाँहरुले घोषणा पनि गर्नुभयो । यो हामी सबैका लागि खुशीको कुरा हो । आज यही हलमा पनि चाहे हिजो माओवादी आन्दोलनकै क्रममा विकास भएको र विभिन्न ढंगले विभिन्न कालखण्डमा अन्यत्र अनुभव गरेर अन्ततः माओवादी केन्द्र नै सही रहेछ भनेर भर्खरै केही कमरेडहरु यहाँ पार्टी प्रवेश गर्नुभयो र उहाँसँगै अरु पनि पार्टी प्रवेश गर्नुभयो । यसको सांकेतिक तर ठूलो अर्थ र सन्देश छ भन्ने मैले ठानेको छु । विगतमा विभाजित भएर गएका बाँकी कतिपय माओवादी समूहभित्र विभाजनको औचित्य पुष्टि गर्न सकिएन, हामीले माओवादी केन्द्रलाई गाली गर्नु गलत भयो, किन गरियो ? आज यही प्रक्रियामा, यही निर्वाचनमा, यही शान्तिपूर्ण राजनीतिमा जानुपर्ने बाध्यता किन भयो भनेर निकै मार्मिक ढंगले साथीहरुले बहस गर्न थालेको सुनेको छु मैले । किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । हामी माओवादी केन्द्रसँग जानु पर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानु पर्दछ र हामीले गल्ती ग¥यौं भन्नुुपर्दछ भन्ने अरु पार्टीका साथीहरुको पनि मैले कुरा सुनिराखेको छु । यो हामी सबै सच्चा माओवादीहरुका निम्ति खुशीको कुरा हो । म यो कुरा सबैलाई जानकारी गराउँदै मैले हिजो कैलालीको एउटा ऐतिहासिक भूमिबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको छु । आज पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा पुनः सबैलाई एकताका लागि अपिल गर्न चाहन्छु ।

हाम्रा निम्ति इतिहासमा एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन । हामी एकढिक्का भएर निर्वाचन अभियानमा जानु छ । परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्ने हाम्रा महान सहिदहरु, बेपत्ता योद्धाहरु, सबै क्रान्तिकारीहरुका सपना पूरा गर्ने अवसरको रुपमा हामीले यसलाई सदुपयोग गर्नुपर्दछ । म यही अपिल सबैसँग गर्दै फेरि एक पटक पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदाय, कम्युनिष्ट क्रान्तिकारीहरु र न्यायप्रेमी जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधन ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal