२७ माघ २०६१, बुधबार
राती ११ः००
बुधबार: आम बन्दीको मुक्तिबार
डिभिजन सहकमान्डर विविधको सञ्चार सेटमा केही खबर लिन्क भयो र बाहिर जानुभयो । एरियल तन्काउँदै केही कुरा गर्नुभयो र फर्किनुभयो । ओछ्यानमा पल्टनुभयो । फेरि जुरुक्क उठ्नुभयो र फेरि सञ्चार सेट बोकेर बाहिर कुद्ने तयारी गर्नुभयो । “अब त सुरु भयो होला, जानुपगर्यो”, उहाँले भन्नुभयो । उहाँको निंद्रा कुल्चिँदै जाँगरपूर्वक उठेर बाहिर जाने तरखरसँगै म पनि तयार भएँ । उहाँलाई पछ्याएँ ।
राती ११ः१५
सञ्चार सेटको घन्टी बज्यो । क. विविधले सोध्नुभयो, “के छ खबर ?” उत्तर आयो, “साथीहरू नजिक नजिक पुगिसक्नुभयो । एउटा टिम निशाना नजिक पुगिसक्यो । बाँकी टिम आ–आफ्ना आर्कमा पुग्दै छन् । अब सुरु हुन थोरै समय मात्र बाँकी छ ।” “ल त म आक्रमणको प्रतीक्षामा छु । त्यता सुरु हुँदाबित्तिकै यता खबर गर हैं त ?” क. विविधले सञ्चार युनिटलाई आदेश दिनुभयो ।
राती १२ः२०
सञ्चार सेटको घन्टी फेरि बज्यो । कतैबाट एक आवाजले भन्यो, “दाइ ताली पिट्नोस्, सुरु भयो । साथीहरूले हमला सुरु गरे ।” सञ्चार सेटको खबर कानमा ठोक्किँदाबित्तिकै मैले ताली पिट्न सुरु गरेँ । एक पटक डिभिजन भीसी क. विविधसँग विजयको अपेक्षासहित हात मिलाएँ । उताबाट खबर आयो, “चर्को गोली हानाहान सुरु भएको छ । साथीहरू भित्र पस्दै छन् । यताको एउटा चोक खाली रहेछ । पारिपट्टि गोली हानाहान भइरहेको छ ।” क. विविधले भन्नुभयो, “ल त नयाँ खबर थपिएमा तुरुन्त यता हान्नु हामी प्रतीक्षामा छौँ ।” यसबिच क. विविधले भन्नुभयो, “यो कारबाही आधा घन्टाभन्दा लम्बिनुहुन्न । मलाई विश्वास छ, यो आधा घन्टामै सफल हुनेछ । हाम्रो डिभिजनको छानिएको फोर्स र तेस्रो बटालियनका छानिएको फोर्सले त्यहाँ हमला गर्दै छ । जित र जीवन दुवै कमान्डर त्यतै छन् ।”
राती ११ः४०
डिभिजन कमान्डर क. विविधले फेरि सञ्चार युनिटको आधारको शिविरमा सम्पर्क जोड्नुभयो । सञ्चारको आधार शिविरमा निकै होहल्ला सेटबाटै सुन्न सकिन्थ्यो । एउटा मोटो आवाजले भन्यो, “त्यो बख्तरबन्द बाहिर निस्केको छ । कता लाग्यो पिछा गर र हमला गर ।” अर्को आवाजले भन्यो “क्याम्पस रोडतिर लाग्दै छ । ल त त्यताबाट ठोक्नुहोला ।” क. विविधले यताबाट निर्देशन दिनुभयो, “त्यो बख्तरबन्द होइन, ट्याङ्कर हो । त्यसलाई नजिक आउन दिनुहोस् र ठोक्दिनुहोस् । च्याप्पै समात्नुहोस् ।” सञ्चार युनिटको जनमुक्ति सेनाले खबर रिले गरे, “दाइको खबर छ कि त्यो ट्याङ्कर सिज गरिदिनुहोस्् ।” युद्धमोर्चाका जनमुक्ति सेनाले जवाफ दिए, “हुन्छ, हामी अहिले नै त्यसलाई सिज गर्नेछौँ ।
हत्याराहरूलाई सुताइदिनेछौँ ।” उता मुख्य तथा भीषण मोर्चाबाट खबर आयो, “अब हामीभित्र गइसकेका छौँ । लगभग फाइनल हुन लागिसकेको छ ।” क. विविधले भन्नुभयो, “ल अब म दस मिनेटपछि गर्नेछु ।”
राती ११ः५०
डिभिजन भीसी क. विविधले फेरि सञ्चार सम्पर्क जोड्नुभयो । सञ्चार टिमका हरेक सदस्यहरू सूचना आदान–प्रदानमा व्यस्त थिए । अन्य आधार सेटहरूमा इन्टरकमका आवाज सुनिँदै थिए । मध्यरात हुन दस मिनेट बाँकी रहँदा पश्चिम क्षितिज उज्यालो हुँदै गयो । मानौँ त्यहाँबाट घाम उदाउँदै छ ।
सञ्चार सेटमा आवाज सुनियो, “दाइ, मुख्य निशाना क्लियर भयो । त्यहाँबाट साथीहरू फर्किंदै हुनुहुन्छ । अर्को ठाउँमा भिडन्त भइरहेको छ । ट्याङ्कर त त्यहाँबाट भाग्यो र वडा प्रहरी कार्यालय नजिक अडिएको छ । उसैको सेटले ट्याङ्करका सेना मरेको भन्दै छ । यता जिप्रकाबाट कुनै प्रतिरोध गरेको छैन । बैङ्क पनि चुपचाप छ । खाली पो छ कि जस्तो छ ।” क. विविधले सबै सपोर्ट ग्रुपलाई होसियारीपूर्वक सतर्क रहन र अगाडि बढ्न आदेश दिनुभयो । “ऊ हुन सक्छ तर गोली नचलाएको हुन सक्छ । बुझेर मात्र कदम अगाडि बढाउने । त्यो ट्याङ्करलाई ठोकेर फेरि सुनमा सुगन्ध थप्नुहोस् त ! त्यसलाई उडाइदिनुहोस् । बज्रहरू त्यहाँबाट छिटो अगाडि बढ्नुहोस् ।”
फेरि आधार सेटमा खबर सुनियो, “त्यो ट्याङ्कर त वडा प्रहरी कार्यालयबाट पनि भाग्यो । ब्यारेकतिर गए जस्तो छ । यता क्याम्पस रोडमा दुश्मन निस्केको जस्तो छ ।” क. विविधले फेरि भन्नुभयो, “अगाडि बढ्नुहोस् र तिनीहरूलाई सुताइदिनुहोस् ।” उतापट्टि क्लियर भएको भए एक सेक्सनलाई बन्दीहरूसँग बाहिर पठाउनुहोस् र उतातिरबाट जोडेर अगाडि बढ्नुहोस् । मैले प्रमुख निशाना क्लियर भयो भन्ने सन्देश सुनेपछि फेरि क. विविधसँग एक पटक विजयका हात मिलाए । खुसीले ताली पिटे । क. विविध पनि निकै खुसी हुनुभयो ।
मध्यराती १२ः२०
हामी बीस मिनेटको समय यतै ओहोर–दोहोर गर्याें । यो फौजी मोर्चाको सफलताले पार्ने प्रभावबारे चर्चा गयौँ । क. विविधले यो मोर्चा विजय भएपछि यो मोर्चाको वास्तविक युद्धक्षेत्रबारे जानकारी दिनुभयो, “धनगढी कारागार कब्जा भयो । प्रमुख निशाना र लक्ष्य त्यही थियो । हाम्रा आस्थाका बन्दीहरू क. तिलक शर्मालगायत सबै रिहा भए । मुख्य उपलब्धि यही हो, हामीले जनताका नेतालाई शाही निरङ्कुश सत्ताको जेल तोडेर मुक्त गराएका छौँ ।” मैले एक हप्तायताको कुनै दिन क. विविधले भनेको स्मरण गरेँ । उहाँले भन्नुभएको थियो, “उताबाट कारागार ल्याएर पेल्दै आउने अनि यताबाट पनि पेल्दै लिनु पर्ला ।” हेरौँ अबका अरू मोर्चाहरू कसरी खुल्नेछन् ।
क. विविधसँग यो मोर्चाका एक कमान्डर क. जितको सम्पर्क स्थापित भयो । क. जितले रिपोर्ट गर्नुभयो, “कारागार कब्जा भयो । हाम्रा मुक्तबन्दी क. तिलक शर्मालगायत सबै आराम छन् । बाहिरतिर फाट्टफुट्ट गोली हानाहान जारी छ । बन्दीहरू त धेरै रहेछन् एकसय पैंसठ्ठी जना ।” क. विविधले प्रत्युत्तरमा भन्नुभयो, “धन्यवाद, बधाई छ तपाईंलाई र हाम्रा सम्पूर्ण योद्धा साथीहरूलाई । अब रिहा बन्दीमध्ये जनमुक्ति सेनामा भर्ती हुनेलाई भर्ती गर्नुहोला र बाँकीलाई उनीहरूको इच्छाअनुसार घर अथवा अन्यत्र जान दिनुहोला ।” क. जितले लडाइँ सकिएको र आफूहरू युद्धक्षेत्रभन्दा बाहिर सुरक्षित इलाकामा आइसकेको जानकारी पनि गराउनुभयो ।
साथै, उहाँले भन्नुभयो, “हाम्रा एक जना कम्पनी सहकमान्डर कमरेडको यो लडाइँमा उच्च सहादत भयो । एक जना कमरेड अलि सिरियस हुनुहुन्छ र दुई जना अन्य साथीहरू सामान्य घाइते हुनुहुन्छ । दुश्मनहरू बीस जना त्यही ढलेका छन् । अन्य भिडन्तमा पाँच सात जना ढले जस्तो छ ।” क. जितको रिपोर्टपछि क. विविधले निर्देशन दिनुभयो, “तपाईंहरू आरामपूर्वक, होसियारी साथ सेफ सेल्टरमा फर्किनुहोस् । भोलि दिनभर आराम गर्नुहोला । अरू टिमलाई राजमार्ग नियन्त्रणमा लगाउनुहोस् । भोलि बिहान बाहिर निस्क्यो भने त्यसैगरी सुताउनुपर्छ ।”
सञ्चार सम्पर्क स्थगित गरियो । क. विविध यो फौजी मोर्चाको सफलताको विश्लेषण गर्न र आगामी योजना निर्माण गर्न शरीरलाई आराम दिनका लागि बिहान १ बजे सुत्नुभयो । मैले भने मेरो पहिलो समाचार स्रोता क. विकल्पलाई ब्युँझाएर समाचार विवरण सुनाएँ । यी शब्दहरू नउतारेसम्म निंद्रालाई पराजित गरेँ । डिभिजन सहकमान्डर क. विविधले प्रत्यक्ष निर्देशन दिनुभएको आम बन्दीको मुक्तिबारेको समाचार रिपोर्टिङ गरेँ ।
(२९ औ जनयुद्ध दिवसको अवसरमा आज दिउँसो १२ बजे प्रज्ञा प्रतिष्ठानको सिद्धीचरण हलमा प्रधानमन्त्री तथा जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन हुने मनऋषि धितालका जनयुद्धका डायरीहरुमध्येको राजमार्गयात्राको एक अंश)