
परिवारको सुख र
उज्यालोको लागि
गाऊँ बाट सहर पसियो,
घरको तुलसीको मठ
गमलामै भएपनि
साथै लिएर हिंडियो।
बिहान र वेलुकी
नियमित पुजा गर्ने दियो र पॉंचायन देवता
भागवत गीताको किताव समेत
शंख र घण्टीको साथ
बसॉंई सरेर आयो।
तिल्की फल्ने गनारी खेत र
मैलु गाईको यादले लामो समय
परिवारलाई नियास्रो बनाई रह्यो।
हुर्किदै गरेका
बचेरा सन्तान हरु
अध्ययन को लागि
काठमाडौं सरे
लामो समय सम्म
परिवारको एक्लो बसॉंई।
तथापी दायित्व र जिम्वेवारीले
छोराको विवाहकोलागि
ऑंगनमै जग्गे थापेर
पन्चेबाजा बजाउंदै
बुहारी भित्र्याउंदा
जग्गेमा रोपिएका केराको बोट
आज साथी बनेकाछन्।
प्रत्येक महिना
कहिले तीन र कहिले चार घरी केरा
बोटमै पंहेलिदा
सन्तानको यादले यो मन
कतिबेला काठमाडौं पुग्छ,
कति बेला नेपालगन्ज देखि सात समुद्र पारी
अमेरिका र अष्ट्रेलिया पुगिहाल्दो रहेछ।
छोरा र बुहारीको लागि भनेर
आमाको मन नाड०लो भरी केराको चाना सुकाउंछ ,
फेरी सुकाउंछ,फर्काउंछ र उठाउंछ।
पहिलो घरी केराको चाना सुकी नभ्याउदै
फेरी अर्को घरी पाकी सक्छ।
जग्गेको केरा एक्लै खान हुदैन
भन्ने मान्यताले छिमेकी सबैले
चाखे विहेको सगुनको रुपमा जग्गेको केरा।
समय काल फेरीदै जॉंदा कार्यव्यस्तता र
जिम्वेदारी ले टाढिएका
छोरा बुहारीसंग बर्तमानमा
मोबाइलको मेसेन्जरले भेटाउंछ
बेलुकी प्रत्येक दिन ९.०० बजे।
तर खाने तन बाहिर छन ,
केवल जग्गेको केरा र केराको चानामात्र रहेकोछ साथमा।