Dabali News

रामदीप आचार्यलाई खुलापत्र: विप्लवलाई हाेइन आफ्नै नेतालाई प्रश्‍न सोध्‍ने आँट गर्नुहोस् 

रामदीप दाई,

हिजो साँझ एउटा अनलाइनमा तपाईँले नेकपा महासचिव विप्लवलाई लेखेको पत्र पढ्ने अवसर मिल्यो । सुरुमा म दुबिधामा परेँ- लेखक तपाईँनै हो की तपाईँको नाम गरेको अरु कोही हो भनेर । पत्र (लेख) को अन्तिममा नेकपा केन्द्रीय सदस्य भनेर उल्लेख गरिएको देखेपछि मेरो दिमागभित्र सम्झनाको रिल घुम्यो ।

रत्नपार्क शान्तिबाटिकामा २०७१ सालको मजदुर दिवसको अवसरमा एउटा सभाको आयोजना गर्नुभएको थियो । उक्त कार्यक्रममा विप्लवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नुभएको थियो । कार्यक्रम चल्दै गर्दा आकाशको बादल गर्जिएपछि चर्को पानी परेकाे थियाे । वर्षाको कुनै प्रवाह नगरी उपस्थित मजदुर एवं सहभागीहरू तपाईँकाे भाषणहरु सुनिरहेका थिए । तपाईँले उत्तेजितशैलीमा भाषण गर्नुभएको हिजो जस्तै लाग्छ, ‘मजदुरसँग अब दुइटा विकल्प छन् कि बन्दुक बोक्ने कि मृत्यु स्वीकार गर्ने ।’ कुन बुझाइबाट प्रेरित भएर त्याे वाक्यांश भन्नुभएकाे थियाे ? सायद बिर्सनुभएकाे छैन हाेला र तपाईँले मञ्च तताउन र ताली खानका लागि मात्र त्याे वाक्यांश पक्कै बाेल्नुभएकाे थिएन हाेला । हरेक बाेलीकापछि एउटा राजनीतिक दर्शन पक्कै हुन्छ भन्ने तपाईँ जतिकाे नेतालाइ थाहा नभएकाे हामी कसरी मानाैं ।

त्यससँगै तपाईँलाई मजदुर संगठनको संयोजक बनाउँदा नयाँबजारको डोजो हलमा ‘असन्तुष्ट’ बनेका प्रतिनिधि र अखिल (क्रान्तिकारी) काे १८ औं राष्ट्रिय सम्मेलनमा तपाईँलाई अध्यक्ष नबनाउँदा कीर्तिपुरकाे स्मृति भवनमा असन्तुष्ट र निराश बनेका प्रतिनिधि अनि तपाईँले राखेको मार्मिक मन्तव्य पनि पुनः स्मरणमा आए । र मनमनै लाग्यो सायद हेसेनवर्गको अनिश्चितताको सिद्धान्त सबैतिर लागु हुन्छ होला ।

अब लागौं पत्रमा तपाईँले उठाएका केही विषयतर्फ, उसो त तपाईँले विप्लवलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ । मैले विप्लवको तर्फबाट तपाईँको पत्रको जवाफ दिने दुस्साहस गर्न खोजेको हैन र त्यो गर्न मिल्ने कुरा पनि भएन । तथापि तपाईँलाई एउटा पत्र लेख्न मन लाग्यो । आशा छ, यसलाई स्नेहपूर्वक ग्रहण गर्नुहुनेछ । तपाईँले शान्तिको सवाललाई प्राथमिकताका साथ उठान गर्नुभएको र विप्लवलाई शान्ति विरोधी कित्तामा प्रस्तुत गर्नुभएको छ । त्यसपछि मलाई तराइतिर हुने गोरु चोरीको प्रसङ्ग सम्झाउन मन लाग्छ ।

गोरु चोर्नका लागि चोरहरुले आफ्नो समूह बनाउँछन् र अँध्यारो परेपछि किसानको आँगनमा पुग्छन् । उनीहरु सुरुमा गोरुको घाँटीमा झुन्ड्याइएको घन्टी झिक्छन् । अनि गोरुलाई आफ्नो गन्तव्यतिर डोर्याएर लैजान्छन् । बाँकी एकजना भने घण्टी बजाउँदै विपरित दिशातर्फ अघि बढ्छ । जब किसानले घन्टी बजेको सुन्छ र आफ्नो आँगनको गोरु देख्दैन, उसलाई लाग्छ कि गोरुले नाम्लो फुत्काएर भागेको हुनुपर्छ । त्यसपछि उ गोरुको खोजिमा घण्टी बजेको दिशातिर दौडिन्छ । तर, भ्रमित बनेको किसान गोरु नभेटाएरै फर्किन्छ ।

ठिक यसैगरी आज सरकारले पनि बिपरित दिशातर्फ युद्धको घन्टी बजाएर जनतालाई भ्रमित गर्ने कोशिस गर्दैछ । तथापी सामाजिक सञ्जाल, चिया पसल, चौतारीका संवाददेखि अखबार, रेडियो र टेलिभिजनसम्मका बहस हेर्नुभयो भने बहुसंख्यक जनता, राजनीतिक नेता-कार्यकर्ता, लेखक-पत्रकार यसपटक भ्रमित छैनन् भन्ने कुरा स्पष्ट हुन्छ। तर, तपाईँले विप्लवलाई शान्तिको प्रधान बिरोधी शक्ति (ब्यक्ति) का रुपमा उल्लेख गर्ने प्रयत्न गर्नु कुनै हिसाबले पनि शोभनीय भएन ।

प्रिय दाइ, पालुङटारको जस्तै नेतृत्वको ‘चाकडी’ गर्न खोज्नुभएको हो भने शुभकामना छ । हाेइन भने यो कसरी मेल खान्छ ? कुनै बेला जनयुद्धमा बगेको रगतलाई रजस्वलाको रगतसँग तुलना गर्ने नारायणकाजी श्रेष्ठहरु आज कहाँ के गर्दैछन् भन्ने कुरा छर्लङ्ग छ ।
सामान्य भाषामा भनौं- द्वन्द्व किन हुन्छ- असमझदारी र विवाद बढेपछि । राजनीतिक विवाद किन बढ्छ- वैचारिक दृष्टिकोणमा ग्याप बढेपछि । सामाजिक विवाद किन बढ्छ- अन्याय र असमानता बढेपछि होला । त्यसैले व्यवस्थित राजनीतिक पद्धति र समतामूलक सामाजिक न्यायको उपस्थिति रहेको बेला द्वन्द्व हुने सम्भावना न्यून हुन्छ । विप्लवले वा अरु कसैले चाहदैमा युद्ध, आन्दोलन भइहाल्दैन । मार्क्स, लेनिन, माओका रचनाहरु तपाँईले जति धेरै पढेको छैन । र, विभिन्न सन्दर्भमा विभिन्न ब्यक्तिले भनेका कुरा साभार गर्नतिर पनि नलागौं होला । बरु भन्नुहोस् कि आजको नेपालमा शान्ति बिरोधी को हो ? त्यसभन्दा पहिले २०५२ सालमा शान्तिबिरोधि को थियो- माओवादी कि सरकार ? ल ठिकै छ ०७० सालको दोस्रो सविधानसभा निर्वाचनताका तपाईकै निर्देशन काठमाडौमा दर्जनौं बम पड्किएका कुरा पनि भुलिदिउँ । विप्लवले आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएपछिको मात्रै हिसाब निकाल्नुहोस् । विप्लवको पार्टीले अशान्ति मच्चायो कि सरकारले ? लोकतन्त्रको परिभाषा के हो ? कसैले कुनै कुरा मान्छु भन्ने पाउँछ भने अर्कोले मान्दिन भन्न पनि पाउँछ । ठिक छ भन्नु लोकतन्त्र हो भने ठिक छैन भन्नु पनि लोकतन्त्र होला नी । चुनावमा भोट हाल्नु लोकतान्त्रिक अधिकार हो भने भोट हाल्दिन भन्नु पनि लोकतान्त्रिक अधिकार हो । गत सालको स्थानीय चुनावमा विप्लवका नेता-कार्यकर्ता, समर्थकहरुमाथि कसरी ज्यादती भयो ? तपाईँलाई थाहा हुनैपर्छ ।

अस्पतालबाट मानिसहरु समातिए । क्रियास्थलबाट मान्छेहरु गिरफ्तार गरिए । घरमा सुतिरहेका मान्छेहरु प्रहरी हिरासतमा ब्यूँझिए, सुत्केरी र बच्चामा आमाहरू समेत गिरफ्तारीमा परे । यो सबका पछाडि एउटै कारण छ कि, उनीहरुले चुनावमा मतदान नगर्ने सोँच बनाएका थिए । ‘बम’ त चुनावी मिति नजिकिएपछि मात्रै पड्किएका खबर आएका हाेइनन् र ? कालिकोटको माल्कोटमा धनरुप बटालाको हत्या कसको गोलीबाट भएकाे हाे ? अनि त्यहाँ विवाद र झडपको स्थिति के र कसका कारण सिर्जना भएकाे थियो ? मन्त्री समेत भैसकेका प्रकाण्डलाई राजनीतिक गिरफ्तारीमा कसरी यातना दिइयो ? अरु टाढा जानै पर्दैन । पछिल्लाे समय कपिलवस्तुकाे शिवगढीमा घरबाटै पक्राउ गरेर लगिएका दुर्गा राेकालाई प्रहरी चाैकी पुर्याइसकेपछि शौचालयमा लगेर गोली हानियाे । सरकारको जयजयकार गर्नेहरुकै बराबर  नभए पनि न्यूनतम मानवअधिकार र मौलिक अधिकार हरेक नेपाली नागरिकको हुन्छ कि हुँदैन ? यी र यस्ता प्रश्नबारे सोच्नुहोस् र तपाईँको पार्टी नेतृत्वको सरकारलाई सोधिदिनुहोस् ।

तपाईँले वैज्ञानिक समाजवादको बारेमा बहस गरिरहेको, वैदेशिक हस्तक्षेपका विरुद्ध काम गरिरहेको जानकारी पाउँदा खुसी लागेको छ । ती र त्यस्ता बहसहरु हाललाई विप्लवसम्म हैन एकपटक आफ्नो पार्टी पङ्क्तिभित्रै गर्ने कोशिस गर्नुहुन्छ कि ? अझ नेतृत्वको बिशेष ध्यानाकर्षण गर्नु राम्राे हाेला कि । तपाईँहरुको केन्द्रीय समितिको बैठक बस्ने मितिको त कुनै टुंगो छैन होला । बरु प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डलाई भेटेर भन्नुहोस् या यस्तै अनलाइनको माध्यमबाट पत्र लेखेर प्रश्नहरू सोध्नुस् । यी राजनीतिक प्रश्नहरू पनि सोध्नुस् कि दशक लामो गृहयुद्ध झेलेर आएको नेपाली समाजमा दीर्घकालीन शान्ति स्थापना कसरी गर्न सकिन्छ ? माओवादी पार्टी बिभाजनको शृङ्खला कसरी सुरु भयो ? ‘विप्लव समूह’लाई राजनीतिक ‘मूलधार’मा कसरी ल्याउन सकिन्छ ? अरु विप्लव जन्मिन नदिन के गर्नुपर्ला ?

अनि केही समाजवादसँग सम्बन्धित प्रश्नहरु पनि सोध्नुस् । पार्टी अध्यक्ष दुइटा भएजस्तै समाजवाद पनि दुइटा हुन्छन् कि ? गरिबका लागि एउटा र धनीका लागि भिन्नै ? एउटै हुन्छ भने दोहोरो शिक्षा प्रणालीको अन्त्य कहिले हुन्छ ? प्रचण्डको नाती र कुनै एउटा चेपाङको बच्चाले समान प्रकारको विद्यालयमा पढ्न पाउने अवस्था बन्छ कि बन्दैन  ? संविधानले प्रदत्त गरेको मौलिक हकहरु (कम्तिमा शिक्षा, स्वास्थ्य, रोजगारी) राज्यले प्रदान गर्न सक्छ कि सक्दैन  ? उपचार खर्च जुटाउन नसकेर आत्महत्या गरेको समाचार कहिलेदेखि सुन्न नपर्ला ? कम्युनिस्ट नेताहरूको लगानीमा सञ्चालित निजि शिक्षालय र अस्पतालहरु राष्ट्रियकरण हुन्छन्  त ?

राष्ट्रियताको विषयमा पनि नेतृत्वलाई तपाईँको काँधमा काँध मिलाउन प्रस्ताव गर्नुहोस् । सक्नुहुन्छ भने पूरा राष्ट्रघाती सम्झौता (१९५० को सन्धि, गण्डकी, कोशी, महाकाली लगायतका सम्झौता) खारेज गर्न सुझाव दिनुहोस् नसके कम्तिमा नयाँ राष्ट्रघाती सम्झौता र निर्णय नगर्न भन्नुहोस् । बरु एकचोटी प्रधानमन्त्री ओलीलाई सोध्नुस्- दुई दशकमा महाकाली सन्धिबाट नेपाललाई कति अर्ब नाफा भयो ? इन्डो प्यासिफिक स्ट्रटेजिमा नफस्न भन्नुहोस् ।

तपाईँ स्वयंले पनि बहिस्कार गरेको र गर्न लगाएको संविधानसभाबाट निर्मित संविधान फेरि एकपटक पढ्नुहोस् र तपाईँका नेताहरूलाई सुनाइदिनुहोस्- राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने कुरा तपाईँहरुले नै बनाएको संविधानको मर्म विपरित छ भनेर । ‘सेबोटेज’को विषयमा पनि भ्रममुक्त हुनुहोस् । प्रकाण्डको डायरीमा अस्पष्ट र अमूर्त रुपमा लेखिएको भनिएको पुरानो सन्दर्भको कुरालाई लिएर नेताहरुलाई नतर्सिन भन्नुहोस् । अर्को कुरा, प्रकाण्डको डायरी भेटिएको साउनमा अनि प्रचण्डमाथि सुरक्षा खतरा चाहिँ फागुनमा आएर मात्रै महशुस हुनुपर्ने ? त्यसैमा पनि अमेरिका उड्ने मिति नजिक आएपछि प्रचण्डले विप्लवले आफ्नो हत्या गर्ने योजना बनाएको भनेर सार्वजनिक गर्नुपर्ने ? प्रचण्डले विगतदेखि नै पटक पटक आफूलाइ हत्या गर्ने षड्यन्त्र भइरहेकाे भन्दै कुर्लिने गरिरहेका छन तर ती कुनै पनि कुराकाे स्वतन्त्र पुष्टी भएकाे छैन ।

एकछिन मानिलिउँ प्रकाण्डको डायरीमा कसैको हत्या गर्ने योजना भेटिएको भए, उतिबेला नै उक्त पार्टीमाथि थप कारबाही र प्रतिबन्ध लगाउने कुरा आउथे होलान् । उतिबेला गिरफ्तार नेताकार्यकर्ता धमाधम छोड्ने अनि आज आएर त्यहीँ डायरीको कुरा देखाएर दुनियाँलाई भ्रमित पार्न खोज्ने कुरा कसरी मेल खान्छ ? ज्योतिषकाे भबिस्यवाणी जसरी २०७६ सालमा कसैको हत्या गर्ने भनेर पक्कै पनि डायरीमा लेखेको थिएन होला । यो सबै कुरा त एउटा सामान्य नागरिकले पनि बुझ्न सक्छ । पत्रलाई धेरै लामो नबनाउँ । खाली म अहिले यी र यस्तै तमाम सन्दर्भहरुमा साेच्छु कि आखिर राजनीतिक दृष्टिकाेणहरु कसरी बन्दछन् र बदलिन्छन् ।

दाई, तपाईँ युवाहरूले अपेक्षा गरेको राजनीतिक ब्यक्ति नै हो । त्यसैले विप्लवलाई यस्ता उल्टापाल्टा प्रश्न सोध्ने, बोकोहरामसँग तुलना गरेर गोलमटाेल गर्ने अराजनीतिक प्रयत्न नगर्नुहोस् । बरु तपाईँका सुप्रीमोलाई आजको राजनैतिक सङ्कटको समाधानबारे प्रश्न गर्नुहोस् र उनीहरुको जवाफ विप्लवलाई पठाउनुहोस् ताकि राजनीतिक संवादको ढोका खोल्न मद्दत गरोस् ।

तपाईँको शुभेच्छुक ।
उमाकान्त युके
१४ चैत २०७५
अनामनगर

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]