
काठमाडौं । पालिका चुनावको लागि बागी उम्मेदवारहरुले फिर्ता लिने आज अन्तिम दिन । दलहरुले आफ्ना बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशन दिइरहेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुले बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशनसँगै छलफल गरिरहेका छन् ।
पार्टीको निर्देशन नमाने वा फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएका छन् । गठबन्धन दलहरुमा सबैभन्दा धेरै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । भरतपुर महानगरमा गठबन्धनकी साँझ उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवार दिनेसँग छलफल गर्न काँग्रेस नेता तथा गृहमन्त्री रेणु दाहाल र विना विभागिय मन्त्री उमेश श्रेष्ठले विहीबार चितवन पुगेर छलफल गरेका थिए ।
त्यसैगरी नेकपा एमालेमा पनि आफ्नै उम्मेदवारविरुद्ध विभिन्न ठाउँमा बागी उम्मेदवारी परेका छन् । एमालेले बनाएकाे गठबन्धनले पनि बागी उम्मेदवारलाई फिर्ता लिन भनेको छ । फिर्ता नलिनेलाई पार्टीको सदस्यताबाटै निष्कासन गरिने एमाले नेताहरुले बताएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज अन्तिम नामावली आज प्रकाशित हुँदैछ । आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आयोगले आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ ।
पार्टीले उठाएका नाममा चित्त नबुझेपछि बागी उम्मेदवारी दिनेहरु धेरै छन् । बागी उम्मेदवारलाई फकाउन नेतृत्वले कसरत गरिरहे पनि केही ठाउँमा मात्रै उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका नेताहरूलाई बागी उम्मेदवारको व्यवस्थापन गर्न समस्या छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका नेता कार्यकर्ताको उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरूलाई समस्या परेको हो ।
आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले बागी उम्मेदवारको व्यवस्थापन गर्न नेताहरु थप सक्रिय भएका छन् ।