
काठमाडौं । नेपाली काँग्रेसको नयाँ महामन्त्रीमा गगन कुमार थापा जित नजिक पुगेका छन् । उनले ८ सय भन्दा बढी मतले अग्रता लिएका छन् । काँग्रेसको निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् ।
दोस्रोमा विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले १०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ७५ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
यसैबीच रिजालले मत कम ल्याएको भन्दै रक्षामन्त्रीबाट राजिनामा दिएका छन् ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।