
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ ।
माल्दिभ्समा खेलको उपाधि जित्न नसकेपनि उपविजेता बनेको हो । फाइलन खेलमा भारतले ३ गोलसहित विजेता बनेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने छ । खेलबाटै बिदाई लिने घोषणा गरेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने आज नेपाल नफर्किने भएका छन् ।
नेपाललाई पहिलो पटक उपविजेता बनाएका अब्दुल्लाले आफू नेपाल फर्किने वा नफर्किने विषयमा केही दिनपछि मात्रै निर्णय गर्ने बताएका छन् । उनले साफले भारतलाई जिताउनै लागि आफूलाई टच लाइनमा प्रवेशमा प्रतिवबन्ध लगाएको बताउँदै आएका छन् । उनले आफूमाथि अन्याय भएको भन्दै अदालत जाने समेत चेतावनी दिएका थिए । त्यसबारे उनले निर्णय गरिनसकेका कारण नेपाली खेलाडीसँगै नेपाल फर्किन नसक्ने बताएका छन् ।
नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । बंगलादेशसँग १–१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।
यसैबीच पहिलो पटक उपविजेता बनेर देशको सान बढाएको भन्दै नेपाली टीमको भव्य स्वागतको तयारी भइरहेको छ । खेलकुद मन्त्रालय र एन्फाका पदाधिकारीहरुले एयरपोर्टमै पुगेर खेलाडीलाई स्वागत गर्ने तयारी भइरहेको छ ।