
काठमाडौँ । कोरोना भाइरसको संक्रमदर र निको हुने दर आज पनि करिबकरिब नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज थप ७ हजार ६६४ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । केही दिनयता नेपालमा कोरोना संक्रमण र निको हुने दर बराबरी नजिक पुगेको छ । यसले आशाको किरण फैलिएको छ । शनिबार पनि ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ८४८ जना संक्रमणमुक्त बनेका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।
त्यसैगरी कोरोनाबाट ज्यान जानेको संख्या २ सय नाघेको थियो । हिजो र आज त्यो संख्या पनि केही भएको छ । शनिबार देशभर १२९ जनाको ज्यान गएको थियो तर आज बढेर १९३ जनाको ज्यान गएको छ ।
कोरोनाको हटस्पट बनेको काठमाडौँ उपत्यकामा २ हजार ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७६१, भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।