
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरका अनुसार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको छ ।
मुख्यमन्त्री भट्टको सामान्य लक्षणबाहेक स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा एक साता थप गरेको छ । कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड–१९ संकट व्यवस्थान समिति (डीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना सङ्क्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो ।