
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएको छ । तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले अहिले विहान ६ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञा १५ दिनसम्म हुनेछ ।
आजैदेखि चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि निषेधाज्ञा लगाइएको छ । दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौँमा निषेधाज्ञा लाग्ने भएपछि घर फर्किनेकोले रातिसम्म लाइन थियो । बसपार्क, सडकमा मानिसहरुको भिड नै थियो । यातायात नचलेपछि बसपार्क, कलंकी लगायतका क्षेत्रमा केही मानिसहरु अलपत्र परेका छन् ।
निषेधाज्ञा पूर्णरुपमा पालन गर्न सरकारले सुरक्षाकर्मी परिचालन गरेको छ । अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारले नागरिकसँग अग्रह गरेको छ । अति आवश्यक काममा निस्किदा पनि स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत आग्रह गरिएको छ ।
आजबाट निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायतका भिडभाड हुने स्थल र कार्य बन्द हुनेछन् ।
विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी ब्यानरसहितका दुईवटासम्म गाडी प्रयोग गर्न पाइनेछ । विवाह÷व्रतबन्धमा सहभागी भएर अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि पालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अरु गाडी प्रवेशमा रोक लगाइएको छ ।
त्यसैगरी एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्न पाइने छ ।
विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडीको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै एयरपोर्ट जाने गाडीका लागि सहजीकरण गर्ने प्रशासन कार्यालयले जनाएको छ ।
अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृ.त्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा गाडी प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइनेछ ।
त्यस्तै प्रेसका सवारी साधान पनि चल्न पाउने भएका छन् । सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा प्रेसका गाडी चल्न दिइने प्रशासन कार्यालयले जनाएको छ ।