काठमाडौँ । अर्थमन्त्री प्रभाकरले नेपाललाई श्रीलंकको अवस्थामा पुर्याउने सपना पूरा नहुने बताएका छन् । उनले नेपाललाई श्रीलंका बनाउने कतिपयलाई रहर लागेको तर त्यो आफूले पूरा हुन नदिने बताए ।
शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले श्रीलंकाको आर्थिक अवस्था नेपालसँग तुलना हुन नसक्ने समेत बताए । “नेपाललाई श्रीलंका बनाउने कतिपयलाई रहर छ, तिनको सपना पूरा हुँदैन” मन्त्री प्रभाकरले भने । उनले तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम भएको समेत बताए ।
विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै मन्त्री प्रभाकरले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताए ।
मन्त्री प्रभाकरले नेपाललाई श्रीलंकासँग तुलना नगर्न आग्रह गर्दै भने, “अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं । श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं ।” उनले अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गर्न आग्रह समेत गरे । मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन विवादका कारण थप समस्या आएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले देशमा डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले जानकारी गराउँदै योभन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको बताए ।
उनले दूरदराजमा फलेका आलुहरु त्यतिकै फालिएको र तिनलाई बजारमा पुर्याउने सोच नबनाएर नीतिमै कमजोरी रहेको बताए ।