आज :

द्रौपदी मुर्मुले लिइन् भारतीय राष्ट्रपतिको सपथ

  • अनलाइन डबली

काठमाडौँ । द्रौपदी मुर्मु भारतकी राष्ट्रपति बनेकी छन्। उनले सोमबार भारतको १५ औं राष्ट्रपतिका रूपमा सपथ लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा मुर्मुले आफू आफ्नो गाउँबाट कलेज जाने पहिलो केटी भएको उल्लेख गरेकी छन्।

‘म जुन पृष्ठभूमिबाट आएकी हुँ, त्यहाँ मेरा लागि प्राथमिक शिक्षा पाउनु पनि एक सपना जस्तो थियो,’ उनले लेखेकी छन्, ‘म जनजाति समुदायबाट आएकी हुँ। वडा काउन्सिलरदेखि भारतको राष्ट्रपति बन्नेसम्मको अवसर मलाई मिल्यो। यो लोकतन्त्रकी जननी भारतवर्षको महानता हो।’

उनले आफू राष्ट्रपति हुनु आफ्नोमात्रै नभएर सबै गरिब भारतीयको उपलब्धी भएको बताइन्। ‘मेरो जित यो कुराको प्रमाण हो कि भारतमा गरिबहरू पनि सपना देख्नसक्छ र तिनलाई पूरा पनि गर्न सक्छन्,’ उनले भनेकी छन्।

भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट राष्ट्रपति बन्ने मुर्मु पहिलो व्यक्ति हुन्। प्रतिभा पाटिलपछि भारतको राष्ट्रपति हुने उनी दोस्रो महिला हुन्।

भारतीय राज्य उडिसामा जन्मिएकी मुर्मु सन्थाल समुदायकी हुन्। यो समुदायका मानिस नेपालको झापा, मोरङ र सुनसरीमा पनि बसोबास गर्छन्। २०६८ सालको जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय छ।

भारतको झारखण्डमा ठूलो संख्यामा सन्थालहरू बसोबास गर्छन्। भारतीय राज्यहरू बिहार, पश्चिम बंगाल, उडिसा र असमसहित बंगलादेशसम्म सन्थाल समुदाय छरिएको छ।

मुर्मुको जन्म उडिसाको मयुरभन्ज जिल्लामा सन् १९५८ मा भएको हो। सामान्य परिवारमा जन्मिएकी मुर्मुले कलेजसम्मको अध्ययन पूरा गर्न निकै संघर्ष पार गर्नुपरेको थियो।

भुवनेश्वरको रमादेवी वुमन्स कलेजबाट स्नातक गरेपछि मुर्मुले उडिसा सरकारको सिँचाइ तथा ऊर्जा विभागमा जुनियर असिस्टेन्टका रूपमा काम गरेकी थिइन्। केही समय उनले विद्यालयमा पढाएकी पनि थिइन्।

सन् १९९७ मा उनी भारतीय जनता पार्टीको तर्फबाट नगरपञ्चायतमा निर्वाचित भएकी थिइन्। त्यसको तीन वर्षपछि उडिसा विधानसभा सदस्य बनिन्। उडिसामा बनेको भाजपा र बिजु जनता दल मिलेर बनेको सरकारमा उनी विभिन्न समयमा मन्त्री बनेकी थिइन्।

नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सन् २०१५ मा उनलाई झारखण्डको गभर्नर नियुक्त गरेका थिए। झारखण्डको गभर्नर बन्ने उनी पहिलो महिला हुन्। गत वर्षको जुलाई १२ सम्म झारखण्डकी गभर्नर रहेकी मुर्मुलाई यसपालि भाजपाले देशको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal