आज :

आगामी मंसिर २ गते संघ र प्रदेशको चुनाव गर्न आयोगको सुझाव, फागुन ७ गतेअघि नै नयाँ राष्ट्रपति 

  • अनलाइन डबली

काठमाडौं । आगामी मंसिर २ गते आम चुनाव गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँड, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिबारे सुझाव दिएका हुन् ।

बुधबार नै आयोगको बैठक बसेर ७ फागुनको प्रजातन्त्र दिवस अगाडि नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन टुंग्याउने निर्णय गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपतिसहित नयाँ पदाधिकारीको उपस्थितमा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदा राम्रो सन्देश जाने पनि आयोगका पदाधिकारीहरुले सरकारलाई सुझाव दिएका छन् ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो । प्रत्यक्षतर्फको परिणाम केही दिनमा आए पनि समानुपातिकतर्फको सिट बाँडफाँट माघ अन्तिममा भयो भने २० फागुनमा सांसदहरुले शपथ लिएका थिए । अन्तिम नतिजा सार्वजनिक भएको मितिलाई मान्ने कानुनी व्यवस्था भएपनि प्रत्यक्षतर्फ वा समानुपातिकलाई आधार मान्ने स्पष्ट नहुँदा अन्यौल देखिएको छ ।

आयोगले ५ वर्षे कार्यकाल मंसिरमा सकिने भएकाले मंसिरमै चुनाव गर्नुपर्ने निष्कर्षका साथ मंसिर २ गतेको मिति प्रस्ताव गरेको छ । भेटमा आयोगका पदाधिकारीहरुले १२० दिन समय राखेर मिति घोषणा गर्न आग्रह गरेका  थिए ।

मंसिर २ गते मुस्लिम समुदाय मस्जिदमा जाने र नमाज पढ्ने दिन पर्ने भएको हुँदा मंसिर ४ गते आइतबार चुनाव गर्न उपयुक्त हुने भन्नेमा पनि छलफल भएको स्रोतले बतायो ।

आयोगका पदाधिकारीहरुसँगको छलफलको क्रममा प्रधानमन्त्री देउवाले मिति घोषणाका क्रममा एक/दुई दिन तलमाथि हुन सक्ने बताएका थिए । आयोगका पदाधिकारीहरुले निर्वाचनलाई ५ मंसिरभन्दा पछाडि नलैजान ध्यानाकर्षण गराए थिए ।

अघिल्लो पटक दुई चरणमा चुनाव सम्पन्न भएपनि यस पटक एकै मितिमा चुनाव गर्न सकिने आयोगले बताएको छ ।

यसैबीच आयोगले निर्वाचनको लागि १० अर्ब रुपैयाँ मागेको छ । स्थानीय चुनावमा ७ अर्ब मागेको आयोगले आम निर्वाचनमा त्यो भन्दा ३ अर्ब बढी रकम माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal