
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को साहयक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला नेतृत्व चयन नगरी सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको भेलाले १ सय ९९ जनाको केन्द्रीय कमिटी मात्रै चयन गरी सम्पन्न भएको हो ।
भदौ १२ गतेदेखि भर्चुअलरुपमा सुरु भएको भेलाले १० प्रतिशत सदस्य पछि थप्ने निर्णय गरेको छ । वाईसीएलको नेतृत्वबाट रामप्रसाद सापकोटा दीपशिखा बाहिरिएका छन् । राष्ट्रिय भेला गरेर नयाँ कार्यसमितिको पदाधिकारी निर्वाचित गर्न सकेन । वाईसीएलको अध्यक्षमा सर्वसम्मत हुन नसक्दा केन्द्रीय समिति चयन गरेर भेला सकिएको हो ।
नयाँ अध्यक्षमा सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका छन् । उनीहरुसँग पार्टी नेतृत्व बस्दा पनि सहमति हुन सकेन । तीनै जनाले आफू अध्यक्ष नभए समानान्तर संगठन बनाउने नेताहरुलाई धम्की दिइरहेका छन् । निवर्तमान अध्यक्ष सापकोटाले शेर्पालीलाई अध्यक्ष बनाउन चाहेको एक नेताले बताए । “भेलाको पूर्व तयारीकै बेलाबाट दिपशिखा कमरेड आफूलाई खुशी पार्ने व्यक्तिलाई अध्यक्ष बनाउन लाग्नुभएको छ । तर, यदि त्यो भएमा हामी समानान्तर संगठन बनाउछौं” एक नेताले भने । उनले भेलाले नेतृत्व चयन गर्न नसक्नु नेतृत्वको असफलता भएको समेत बताए ।
माउ पार्टी माओवादी केन्द्रले नेतृत्व चयन गर्न सजिलोको लागि संगठनमा ४० वर्षे उमेर हद लागु गरेको छ । तर पनि पदाधिकारी चयन गर्न भेला असफल भएको छ । अब पदाधिकारी चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
भेलाबाट नेतृत्व चयन नगरी टिके प्रथालाई नै अवलम्बन गरिएको भन्दै वाईसीएलका देशभरका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । मुख्यगरी अध्यक्षका दाबेदार धेरै भएकैले भेलाले नेतृत्व दिन नसकेको हो । संगठनमा उत्तराधिकारीको विकास गर्न नसक्नु निवर्तमान नेतृत्वको असफल भएको वाईसीएल नेताहरु बताउँछन् ।