
काठमाडौँ । माधव कुमार नेपालको साथ छोडेर नेकपा (एमाले) रहेका भीम आचार्य पनि मुख्यमन्त्री नियुक्त भएका छन् । लामो समयदेखि नेपाललाई साथ दिँदै आएका आचार्य विभाजन एमालेमै रहेका थिए ।
एमाले विभाजन गरेर माधव कुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीलाई निर्वाचन आयोगले वैधता दिएकै भोलिपल्ट आचार्यलाई मुख्यमन्त्री बनाइएको छ । त्यो भन्दा पहिला निवर्तमान मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएका थिए ।
राईलाई राजिनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेले निर्णय गरेको थियो । आचार्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णयसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विहीबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । विभाजनको विपक्षमा उभिएपछि वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका अध्यक्ष केपी शर्मा ओलीले आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाएका छन् ।
अब आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीले नेकपा एकीकृत समाजवादीमा जान प्रदेशसभा सदस्यलाई रोक्न आचार्यलाई मुख्यमन्त्री बनाएका छन् । यदि आचार्यलाई एकीकृत समाजवादीले साथ नदिए विश्वासको मत पाउन गारो छ ।
प्रदेश नं. १ एमालेमा हुँदा नेता नेपालको पक्षामा १८ जना सांसद थिए । उनीहरुमध्ये चारजनाले मात्रै साथ दिए पनि आचार्यले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसको लागि आचार्यले एकीकृत समाजवादीसँग वा अन्य राजनीतिक पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था आउने छ ।
सबै प्रदेशबाट एमाले नेतृत्वका सरकार विस्थापित गर्ने अभियानमा विपक्षी गठबन्धन लागेकै कारण पनि आचार्यको सरकार टिक्न मुस्किल छ ।
प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । अहिले एमालेमा ५१ सांसद छन् । उनीहरुमध्ये १ जना सभामुख, १ जना गुलेफुन मियालाई फौजदारी मुद्दा लागेर फरार भएका कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् ।
कुनै पनि सांसदहरुले एकीकृत समाजवादी पार्टीतिर लागेको बताएका छैनन् । आचार्य माधव नेपाल पक्षमा रहँदाका १८ सांसदमध्ये राजेन्द्रकुमार राईसहित ९ जना एकीकृत समाजवादीको पक्षमा खुलेको बताइएको छ ।
यो अंक गणितलाई हेर्दा आचार्य एक महिनाको लागि मुख्यमन्त्री हुने देखिन्छ । यदि मुख्यमन्त्रीकै अवस्थामा आचार्य एकीकृत समाजवादीतिर लागेपनि विपक्षी गठबन्धनले बहुमत पुर्याउने छ । उनी एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री हुनेछन् ।