कान्तिपुर राष्ट्रिय दैनिकमा यही १७ गते प्रकाशित चीन सम्बन्ध र संशय शिर्षकको इन्द्र अधिकारीद्वारा लेखिएको लेख पढ्दा नेपाल र नेपालीले अंगिकार गर्दै आएको पञ्चशिलता र असंलग्नताको सिद्धान्त विपरित मात्र नभई छिमेकी मुलुक चिनप्रति पूर्वाग्राही समेत लाग्यो । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंङ्गा बिचको तरुल हो र हाम्रा उत्तरतिरको भन्दा दक्षिणतिरको धुर्त छ भनेको कुरामा समेत उक्त लेखले मान्यता दिएको पाइदैन ।
छिमेकी मित्र राष्ट्र चिन शक्तिशाली नभएको भए आज हाम्रो देश नेपाल सायद सिक्किमीकरणको अवस्थामा पुगी सक्ने तितो यथार्थतलाई समेत लेखकले भुलेको देखिन्छ । टाढाको देउता भन्दा नजिकको भूत नै काम लाग्छ भन्ने नेपाली उखानलाई समेत ख्याल नराख्नु र अघिल्लो महिनामा राष्ट्रिय एकता समाजको हबला दिँदै एउटा समुहले नेपालमा चीनको हस्तक्षेप रोकियोस् भनि युरोपेली युनियनको राजदुतलाई ज्ञापनपत्र बुझाउनुमा कतै एउटै संस्करण त होइन ? भन्ने शंका मलाई लागेर यो प्रतिक्रियास्वरुप यो लेख्दैछु ।
लेखकलाई म के स्मरण गराउन चाहान्छु भने राजा महेन्द्रको पालादेखि हालसम्म नेपालमा छिमेकी मित्र राष्ट्र चीनले दिएको सहयोग, स्थापना गरी दिएको उद्योग धन्दा, कलकारखाना, यातायात बनाई दिएको विभिन्न भौतिक संरचना तथा राजमार्गहरुको फेहरिस्थ अध्ययन गर्न समेत अनुरोध गर्दछु । हाम्रो लागि भारत र चीन जति नजिक मित्र सात समुद्र पारीको मुलुकहरु हुन सक्दैनन् तर विश्वमा शुरुमै अस्तित्वमा आएको १७।१८ वटा मुलुकहरु मध्ये दक्षिण एशियाको नेपाल राष्ट्र पनि एक हो तर पनि २००४ सालभन्दा अगाडि ब्रिटिश उपनिवेश रहेको भारत जसलाई स्वतन्त्रता दिलाउन विपि र कृष्णप्रसाद भट्टराई लगायत थुप्रै नेपालीहरुको योगदान समेतलाई भुलेर २००७ सालदेखि हालसम्म नेपालप्रति हेपाहा प्रवृत्ति, स्वतन्त्रता र सार्वभौमिकता माथि हस्तक्षेप अनि पश्चिमा मित्र राष्ट्रहरु पनि उनै भारतको आँखाबाट नेपाल हेर्ने प्रवृत्तिले नै आजसम्म आइपुग्दा नेपाल राष्ट्रको अस्तित्व र पहिचान धरापमा छ ।
छिमेकी मित्र राष्ट्र चीनलाई न त हाम्रो नदिनाला, न त वनजंगल, न त जडिबुटी, प्राकृतिक स्रोत साधन न त नागरिकता नै चाहिएको छ । चीनबाट केही सैन्य सामाग्री ल्याएकै निहुँमा २०४५ सालको नाकाबन्दीको मार नेपालले खेप्नु परेको थियो । अमेरिकाद्वारा मुस्ताङ्गमा गराइएको खम्पा युद्ध राजा विरेन्द्रद्वारा निस्तेज बनाएकै कारण २०५८ जेठ १९ गते रचना रचिएको थियो । अनि २०६१ सालमा तत्कालिन अमेरिकी राजदुतले राजा ज्ञानेन्द्रलाई हेलिकप्टरको पुच्छरमा झुण्डीएर देश छोड्नु पर्ला भनेर दिएको धम्की हाम्रो सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा थियो त ?
आज एमसीसी कै कुरा गर्दा केही दिन अगाडि राजनीतिक दार्शनिक शौरबले दिएको अन्तरवार्ता हेरे पुग्छ र यदि एमसीसी विकास परियोजना तथा सहयोग मात्र थियो भने अनेकौ जालझेल र दल तथा व्यक्तिहरु खरिद गरेर जबरजस्ती लाद्न किन प¥यो ? अनि एमसीसी विरोधीहरु जति सबै चीनबाट परिचालित भन्ने आसयको व्यक्त विचार पनि आपत्तिजनक छ । हामी पूर्वसेना तथा प्रहरीबाट निवृत्त सामान्य दर्जाका पूर्व सुरक्षाकर्मीहरु पनि एमसीसी सम्झौता संशोधन हुनुपर्छ भन्नेमा थियौं र विरोध गरेका थियौं के हामी पनि चीनका मान्छे हौं ?
लेखक गिरी पूर्व सुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता समेत हुन् ।