आज :

सूचनाको हकले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउँछ: राष्ट्रपति

  • अनलाइन डबली

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।

‘लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो’, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

‘विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शीता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ’, उनले भने । लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले सूचनाको हकले नागरिकको सशक्तिकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए । साथै सरकारले गरेका काम, कारवाहीबारे जनतालाई सूसुचित पनि गराउँछ भने । जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो । संविधानको व्यवस्थाअनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भै अहिले कार्यान्वयनमा आएको छ ।

लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सूसुचित नागरिकमात्रै सर्वशक्तिमान हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुन्छ भने । संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ ।

कानून कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रुपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै बनिनसकेको राष्ट्रपतिले बताए ।

‘अझै पनि कैयौ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ र यसमा आपूर्ति पक्ष जति संवेदशनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैं आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने ।

संविधानको मर्म र कानूनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा आजमात्र ४ वटा राष्ट्र भाषा मैथिली, अवधी, थारु र भोजपुरीमा प्रकाशित सूचनामागकर्ताका लागि सहयोगी पुस्तिकाका कारण बहुसंख्यक नेपालीमाझ सूचनाको हक पु¥याउन सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal