काठमाडौं । पछिल्ला दिनमा भारतमा पनि कोरोना भाइरस संक्रमणको तेस्रो लहर चलेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
केही समय अघि मात्र संक्रमित भन्दा निको हुनेको संख्या धेरै हुँदै गएको थियो तर बुधबार साढे दुई लाख संक्रमित थपिँदा ८४ हजार ४७९ जना संक्रमण मुक्त भएका छन् भने ३७९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
भारतमा सक्रिय सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।
एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए । हालसम्म भारतमा ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।
यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो । कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।