काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका अध्यता कम्युनिस्ट नेता एकराज पाण्डेद्वारा लिखित ‘मैले देखेको र भोगेको कम्युनिस्ट आन्दोलन’ नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार संवाद डबलीमा पुष्पलाल अध्ययन समाजको आयोजनामा गरिएको कार्यक्रममा कम्युनिस्ट पार्टीका नेताहरु र अध्यताले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट मार्क्सवादी (पुष्पलाल) का महासचिव मानध्वज मास्केले नेपालको कम्युनिस्ट आन्दोलन निम्न पुँजीवादी चिन्तन भएका व्यक्ति नेतृत्वमा पुग्दा धरासायी भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक किसान वर्गको हातमा जमिन जानुपर्छ, विदेशी पुँजीलाई विस्थापित गरी राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताएको तर त्यो विचार लागु हुन नसक्दा समस्या पैदा भएको बताए । उनले कम्युनिस्ट आन्दोलनको आधारभूति ज्ञानको लागि पुस्तक उपयोगी भएको बताए ।
नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्कीले नेपाली नेताहरुले मार्क्सवाद लागु नगरेर संशोधनवाद लागु गरेकै कारण नेपाली कम्युनिस्ट आन्दोलन क्षयीकरण भइरहेको बताए । उनले जनताले कम्युनिस्ट नेतृत्व चाहेको तर नेताहरुको गद्धारीका कारण आन्दोलन अगाडि उढ्न नसकेको बताए । अध्यक्ष कार्कीले सिद्धानत निष्ठ भएर मात्रै नपुग्ने बताउँदै विकल्पसहितका राजनीतिक अहिलेको आवश्यकता भएको बताए । जनताले नयाँ नेतृत्व र विचार खोजिरहेको भन्दै कार्कीले उत्पीडित वर्गको मोर्चा बनाए संयुक्त आन्दोलन उठाउन नयाँ ढंगको सहकार्य गर्न पुस्तकले प्रेरणा थपेको बताए ।
कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कम्युनिस्ट विचारकै कारण नेपालमा सामन्ती राजतन्त्र अन्त्य भएको बताए । कम्युनिस्ट विचारप्रतिको आकर्षणका कारण कम्युनिस्टले दुई तिहाई मत ल्याएको तर जनताको हितमा काम नगरेकै कारण ढलेको बताए ।
कार्यक्रममा नेकपाका सचिवालय सदस्य रत्नप्रसाद जोशी, नेकपा माक्र्सवादी पुष्पलालका सचिवालय सदस्य अच्युतराज ज्ञवाली, वरिष्ठ वामपन्थी नेता केशरमणी पोखरेलले पुस्तकका विभिन्न पाटा पक्षका बारेमा चर्चा गरेका थिए । सबै वक्ताहरुले पुस्तकले कम्युनिस्ट आन्दोलनको शिक्षा लिँदै सर्वहारा वर्गको हितको लागि अगाडि बढ्न पुस्तकले हौसला थप्ने विश्वास व्यक्त गरेका थिए ।
समाजका उपमहासचिव हरिहर खरेलले संचालन गरेको लोकार्पण कार्यक्रममा समाजकी सदस्य चन्दा थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।