काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले संंस्था घाटामा रहेको भन्दै अहिलेकै अवस्था रहे बन्द हुन सक्ने बताएका छन् । उनले मूल्य समायोजना नभए पाँच दशकको इतिहास बोकेको संस्था बन्द हुन सक्ने बताए ।
संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पेट्रोलियमको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए । निगमले पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको गरेको बताउँदै भने, “वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।”
प्रवक्ता उपाध्यायले आयल निगम घाटामा भएको विषय त दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनु पर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत बताए । उनले भने, “यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।”
कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहादा मासिक ५ अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको बाताएका छन् ।