कर्णाली प्रदेशको पर्यटीकय एवम् सांस्कृतिक विविधताले भरिपूर्ण मुगु जिल्ला नेपालको संविधान २०७ं२ अनुसार एक संघीय निर्वाचन क्षेत्र, दुई प्रदेश र ४ स्थानीय तहमा बाँडिएको छ । छायाँनाथ रारा नगरपालिका, मुगु कार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिका रहेका छन् । यी चार स्थानीय तह मध्ये खत्याड गाउँपालिका र सोरु गाउँपालिका प्रदेश ख र छायानाथ रारा नगरपालिका र मुगु कार्मारोङ गाउँपालिका प्रदेश क निर्वाचन क्षेत्र हुन् । मुगु जिल्लाको प्रदेश ख बाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मंगल शाही २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । सांसद मंगल शाहीसँग अनलाइनडवलीले शनिबार विशेष संवाद गरेको छः
मुगुको प्रदेश (ख) बाट तपाईँ सांसदमा निर्वाचित हुनुभएको छ । मुगुका जनताले अब तपाईँको नेतृत्वबाट के अपेक्षा गर्न सक्छन् ?
जब उत्पीडित वर्ग र समुदायका मानिसहरुले आफ्नो मुक्तिका लागि साँच्चिकै आाफ्नै वर्गबाट नेतृत्वको निर्माण गर्दैन, तवसम्म त्यहाँका जनताको मुक्तिको अभियान जुझारु रुपमा अगाडि बढ्दैन । मुगुका जनताको समस्याहरुसँग जुध्न मुगुकै वर्गसंघर्षले निर्माण गरेको नेताहरुको समूहको एक सदस्य हुँ म । माओवादी जनयुद्धदेखि शान्तिप्रक्रिया हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र मजवुत बनाउने ऐतिहासिक प्रक्रियामा मुगुको माओवादी आन्दोलनको तर्फबाट हामीले अविचलित रुपमा आफ्नो दायित्व निर्वाह गरेका छौँ ।
अहिले मुगुका जनताको जनप्रतिनिधिका रुपमा विकास निर्माणदेखि सुशासनसम्म नयाँ अनुभूति हुने गरी काम गर्नु हाम्रो दायित्व हो । जनप्रतिनिधिका रुपमा म र मुगुको माओवादी आन्दोलनका हरेक सदस्य जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी क्रियाशील हुनेछौँ । मुगुको जनताले अवश्य पनि नयाँ अनुभूति गर्नेछन् ।
मुगुको जनताले नयाँ अनुभूति गर्ने गरी तपाईँसँग विकास र सुशासनका एजेन्डाहरु के के छन ? संक्षिप्तमा बताइदिनुहोस् न ?
मुगुमा नेपालको सबैभन्दा सुन्दर, ठूलो र बहुचर्चित ताल रारा रहेको सर्बविदितै छ । मुगुको विकासमा पर्यटनलाई हामीले सबैभन्दा बढी जोड दिनुछ । राराजस्तो प्राकृतिक सम्पदा मात्र होइन छायानाथजस्ता धार्मिक पर्यटनको केन्द्र पनि मुगु नै हो । त्यस्तै कार्मारोङ र मुगाली भोटे समुदायको सांस्कृतिक परिचय र पहिचान पनि महत्वपूर्ण सांस्कृतिक सम्पदा नै मान्नु पर्छ । यसकारण मुगुको विकासका लागि रारालाई केन्द्रविन्दूमा राखेर पर्यटन योजनाको निर्माण र कार्यान्वयन गर्नुपर्नेछ ।
कर्णाली प्रदेश सरकारले पहिले रारा पर्यटन बर्ष मनाउदाको अनुभवलाई हेर्दै हामीले मुगुको पर्यटन प्रवद्र्धन गर्ने होभने सुर्खेतदेखि रारा हुँदै हुम्ला मानसरोवरसम्मको सडक, पदयात्रा, हस्पिटालिटी, पर्यटन सुरक्षालाई विकास र विस्तार गर्नुपर्छ । त्यस्तै लुम्बिनी, दाङ, सल्यान, रुकुम, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने लुम्बिनी रारा सडक योजनाको पनि दु्रत कार्यान्वयन गरिनु पर्छ । राराको ताल हेरेर पर्यटक रमाउने एक दुई दिन हो । पर्यटकको बसाई लम्व्याउन सिंजा सभ्यतादेखि मानसरोवरसम्म, रारादेखि शेफोक्सुन्डोसम्म हामीले जोड्ने योजना बनाउनु पर्नेछ ।
त्यस्तै मुगु कर्णालीजस्तो विशाल नदी हाम्रो भूगोलको छाति चिरेर बगेको छ । हजारौँ मेगावाट विजुलीको अजस्र स्रोतलाई हामीले उपयोग गर्न सकेका छैनौँ । कर्णाली प्रदेशले विजुलीको उत्पादन र खपतमा एकदमै जोडदिनु पर्नेछ । विजुलीको उपयोग गरेर मात्रै कर्णालीका नांगा पाखाहरुलाई हरियालीले भर्न सकिन्छ र आफ्नै आर्थिक स्रोत निर्माण गर्न सकिन्छ । अहिले नेपालको सवैभन्दा कम राजकीय आम्दानी भएको कर्णाली प्रदेशलाई नै धनी बनाउन हाम्रो प्राकृतिक स्रोतको वृहत्तर उपयोग हुनु जरुरी छ ।
मैले आगामी पाँच बर्ष प्रत्येक बस्तीमा सडकलाई व्यवस्थित रुपमा विस्तार गर्ने, हरेक घरधुरीलाई स्वच्छ खानेपानीको पहुँचमा पुरयाउने, दक्षजनशक्ति उत्पादनका लागि व्यवसायिक शिक्षाको व्यवस्था गर्ने, कृषिलाई व्यवसायिकरण गर्ने, जडिवुटी र जंगलको सही सदुपयोग गर्ने कार्यका साथै अल्पकालीन र दीर्घकालीन रोजगारी सिर्जनाका निम्ति खटिनु पर्नेछ ।
म कर्णाली प्रदेशको सांसद भएको हुनाले मैले मुगु र कर्णालीवासीकै सर्वोपरी हितमा कानुन निर्माण गर्ने, बजेट निर्माण गर्ने, विकास निर्माणमा सहजीकरण गर्ने र सुशासनका निम्ति पनि आफुलाई केन्द्रीत गर्नेछु । उदाहरणका लागि हामीले सोरु गाउँपालिकामा उपभोक्तामार्फत भएका विकास निर्माणका काममा संलग्न जनतालाई नै पारदर्शी ढंगले रकमको वितरण गर्ने, समितिले सहजीकरण मात्र गर्ने गरी काम गरेर सुशासनको पहल गरेका छौँ । सुशासन विकास निर्माणदेखि नीति निर्माणसम्म हुनुपर्छभन्ने मेरो आधारभूत मान्यता हो । यसकै लागि म खटने छु ।
तपाईँले व्यवसायीक शिक्षा र व्यवसायीक कृषिको कुरा गर्नुभयो ? मुगुमा कृषि, शिक्षामा त्यस्तो के गर्न सकिन्छ, जसले रोजगारी सिर्जना र गरिवी हटाउन सकोस् ?
मुगु जिल्ला भ्याटिकन सिटीभन्ने स्वतन्त्र मुलुक जत्रै छ । मुगु जिल्लाभित्रका प्राकृतिक स्रोत साधनहरुको सही सदुपयोग गर्ने हो भने मुगु नेपालको आर्थिक विकासको महत्वपूर्ण मेरुदण्ड हुनसक्छ ।
मुगुसँग यार्साका पाटनहरुदेखि बाह्रै महिना तरकारी उत्पादन हुने फाँटहरु छन् । अल्लो र भागोले ढाकिएका खोला, लेक र खोल्साहरु छन् । सुन्तलादेखि स्याउसम्म फल्ने पहाडहरु छन् । तिनको सदुपयोग हामीले गर्नैपर्दछ । मुगुमा फल्ने स्याउ, ओखर, आरुको व्यवसायिक खेती गरी त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याएर कृषिमा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ ।
हाम्रो प्रकृतिले हामीलाई यत्रतत्र सर्वत्र अल्लो र भागो दिएको छ । भागोलाई हाम्रो मुलुकले गाजा भनेर प्रतिवन्धित गरेको छ । प्लाष्टिका थैलाहरुले गाउँ नढाक्ने बेलासम्म हरेक घरमा अल्लो र भागोका थैला हुन्थे । हरेक घरले भागोको तेल उत्पादन गर्थे । डोरी बाट्थे, नाम्लो बनाउथे । हाम्रो नीतिले हामीलाई नै बन्धित र परनिर्भर बनाएको अवस्था छ । कर्णालीले हरेक घरधुरीलाई अल्लो र भागो खेती गर्ने गरी नीति बनाउने हो भने कपडा, तेलमा कर्णाली आत्मनिर्भर हुनसक्छ । नेपालको सवैभन्दा बढी भेडावाख्रा पालन हुने पनि कर्णाली प्रदेश नै हो । मुगुमा त कपासको परापूर्वकालदेखि खेती हुँदै आएको छ । यसकारण मुगुको व्यवसायिक कृषिमा स्याउ, ओखरजस्ता बहुबर्षे बागवानीसँगै एकैवर्षमा आम्दानी दिने अल्लो र भागोलाई प्रोत्साहन दिनुपर्छ । गाजालाई नशा होइन औषधीमा फेर्नुपर्छ ।
त्यस्तै मुगुमा व्यवसायिक शिक्षा दिने संस्थान स्थापना गरिनु पर्दछ । जुम्ला र सुर्खेत केन्द्रित शैक्षिक गतिविधिलाई अन्य जिल्लामा पनि समान ढंगले बृद्धि गरिनु पर्दछ । मुगुको हरेक क्षेत्रमा योग्य जनशक्ति हुनुपर्दछ भन्ने आधारभूत मान्यतालाई ख्याल गर्दै मानव जातिले विकास गरेका ज्ञानविज्ञानका हरेक शाखामा हामीले हाम्रो जनशक्तिको पहुँच पुगोस् भनेर हजार माइलको लामो यात्रा पहिलो पाइलाबाट प्रारम्भ गर्नेछौँ ।
कर्णाली प्रदेश दक्षिणतिर अन्तर्राष्ट्रिय सीमानासँग जोडिएको छैन । मुगुको नाक्चेलाग्ना, डोल्पाको धोमोरिम्ला र हुम्लाको हिल्सा नाका तिब्बत चीनसँग जोडिएका छन् । मुगु नाक्चेलाग्ना सडकबाट सीमापार व्यापार कर्णालीवासीले कहिले गर्न पाउलान् ?
कर्णालीको विकास निर्माणको गति अत्यन्तै धिमा छ । २०४० सालमा शिलान्यास भएको सुर्खेत जुम्ला सडकको सामान्य ट्रयाक खन्न २०६३ साल चैत कुुर्नुपर्यो । यो भनेको २३२ किलोमिटर सडक प्रतिवर्ष १० किलोमिटरका दरले २३ बर्ष लागेको देखिन्छ । हाम्रो विकासको यो गतिले एक्काइशौ शताब्दीको विज्ञान र प्रविधिका युगलाई चुम्न सक्दैनौं । मुगु अझै पनि कालोपत्रे सडकको पहुँचमा छैन । सडक निर्माणको यही गतिमा हामीले नाक्चेलाग्नासम्म सडक विस्तार गरी सीमापार व्यापार धेरै टाढाको विषय हुन्छ । हाम्रो कार्य गति वृद्धि गरेर नाक्चेलाग्नामा मुगुबाट सीमापार व्यापार हुने वातावरण बन्दा नयाँ रोजगारी सिजर्ना हुनेभएकोले यो मेरो प्रथामिकतामा नै रहनेछ ।
नाक्चेलाग्ना सडक मुगुको एउटा सांसद वा केही सचेत नागरिकको विषय मात्र होइन, यो नेपाल सरकारको विषय हो । यो राष्ट्रिय स्वार्थको विषय हो । यो परराष्ट्रसँग जोडिएको मामिला भएकाले संघीय सरकार, कर्णाली प्रदेश सरकारले गम्भीरतापूर्वक लिनु पर्छ र नाक्चेलाग्ना सडक परियोजनालाई प्रयाप्त बजेट व्यवस्था गरी संचालन गरिनु पर्दछ ।
कर्णाली प्रदेशका सबै जिल्लाबाट माओवादीका कुनै न कुनै नेताहरु संघीय सरकार र प्रदेश सरकारको मन्त्रिपरिषद्को नेतृत्व गरेको देखिन्छ । तर कर्णाली प्रदेशको दैलेख र मुगुका माओवादी जनप्रतिनिधिहरुले न त संघ न त प्रदेश मन्त्रालयको नेतृत्व गर्न पाएका छन् । अव पनि तपाईँहरु प्रदेश संसदमा ताली मात्र पिट्ने हो कि नेतृत्व पनि लिनुहुन्छ ?
यो मुगुको माओवादी आन्दोलनका लागि साँच्चिकैको महत्वपूर्ण प्रश्न हो । मुगुले जनयुद्धमा आफ्नो हिस्साको बलिदान पनि गरेको छ । आफ्नो हिस्सामा परेको जनमुक्ति सेना भर्ति अभियानलाई पनि सफल पारेकै हो । गमगढी सदरमुकाम सेवोटेजजस्तो मौलिक कारवाही पनि सफल पारेकै हो । वर्गसंघर्षका साना ठूला कारवाहीहरुमा मुगु सहभागी भएकै हो । मुगुले २०६४ को संविधानसभाको निर्वाचनमा पार्टीलाई विजयी गराएकै हो । के कति तालमेल नमिलेर मुगु माओवादीलाई २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकटविहीन नै बनाइयो । यसपालीको गठबन्धनमा पनि कठिन परिस्थितिबाट अन्तिम घडिमा टिकट पाएका हौं ।
पार्टीले दिएको जिम्मेवारीलाई हामीले पूरा गर्दै दिएको एक सिटमा निर्वाचनमा विजय हासिल गरेका छौ । मुगुको माओवादी आन्दोलनको सम्मान र नेतृत्वको विकासका लागि नयाँ अवसरका खातिर पार्टीले मुगुलाई प्रदेश सरकारमा पनि जिम्मेवारी दिनुपर्छ भन्ने आम जनताको सरोकारको विषय हो । कर्णाली प्रदेश सरकार नयाँ गठबन्धनका आधारमा कसको नेतृत्वमा निर्माण हुन्छ, त्यसले नै आगामी यात्रा निर्धारण गर्नेछ ।
अन्तमा तपाईँ पनि कर्णाली प्रदेश सरकारको मन्त्रीको दावेदार हुनुहुन्छ ?
कानुनतः निर्वाचित हरेक सांसद मन्त्रीका दावेदार हुन् । सांसदले निर्वाचित गरेका दलका नेता मुख्यमन्त्रीका दावेदार हुन् । माओवादी आन्दोलनदेखि आजपर्यन्त अवसर नपाएको पिछडिएको जिल्ला मुगुको जनप्रतिनिधिको हैसियतले माओवादी आन्दोलनको मुख्य नेतृत्व आदरणीय अध्यक्ष कमरेड प्रचण्डदेखि प्रदेश इन्चार्ज, अध्यक्षसम्मले नयाँ अवसर सिर्जना गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नुहुन्छ भन्ने मलाई लागेको छ । अन्ततः यो मेरो रुची र चाहनाभन्दा पार्टीको सामूहिक निर्णयमा नै भरपर्छ । पार्टीले मुगु जिल्लालाई पनि नयाँ अवसर दिने निर्णय गर्नेछ भन्ने मेरो विश्वास हो ।