आज :

जेनजी युवालाई प्रचण्डको सुझाव- मित्र र दुस्मन छुट्याउनुस्, नभए क्रान्ति असफल हुन्छ

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।

कार्तिक १ गते, नेकपा (माओवादी केन्द्र)केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेन्जी युवाहरुलाई भन्नुभयो “तपाईहरु आफ्नो मित्र दुस्मन को हो छुट्टयाउनु होला । हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो ”

जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भन्नुभयो “एउटा विचारले भन्छ — तपाईंहरुको आन्दोलनलाई आतंककारी । यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।”

उहाँले थप भन्नुभयो, “क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ — उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।”

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ।संयोजक प्रचण्डले भन्नुभयो, “हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।”

संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताउनुभयो। “निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,” उहाँले भन्नुभयो।

उहाँले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै, “निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ। त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ,” भन्नुभयो।

संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो। “केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो,” उहाँको टिप्पणी थियो।

उहाँले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भन्नुभयो, “हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं। तर त्यसले मात्र पुग्दैन। लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ।”

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा सम्बोधन गर्दै भन्नुभयो, “२३ गते भएको आन्दोलनले देखायो — हाम्रो युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ। उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्। उनीहरूमाथि अपमानजनक टिप्पणी गरिनु हुन्न।”

आधुनिक प्रविधि र युवा पुस्ताको क्षमतालाई सहि दिशामा परिचालन गर्न सक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “डिजिटाइजेसनको युगमा तपाईंहरुको टेक्निकल क्षमता र हाम्रो विचारको अनुभवलाई एउटै ठाँउमा जोड्न सके, दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन।”
‘अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर छ ।’

उहाँले वर्तमान अन्तरिम सरकार (सुशिला कार्की नेतृत्वमा) निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

संयोजक प्रचण्डले पुनः सबैलाई मिलेर राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आह्वान गर्दै भन्नुभयो, “देश र जनताको भविष्य सुनिश्चित गर्न हामी सबैले सहकार्य गर्नुपर्छ। निराश हुने कुनै कारण छैन। हामीले धेरै संघर्ष गरेर यहाँसम्म आएका छौं, अब जित हामीले नै गर्नुपर्छ।”

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु, ट्रेड युनियनका नेता कार्यकताहरू, विभिन्न संघसंस्थाका सदस्यहरू, बुद्धिजीवी, पत्रकार तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal