
काठमाडौँ । काठमाडौँ महानगर पालिकाले आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न नगर वासी संग अपिल गरेको छ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण गर्न फोहर ढुवानी बन्द हुने भएका कारण यस्तो निर्णय गरेको हो ।
सहरी विकास तथा भवन निर्माण विभागले उपत्यकाको फोहोर ढुवानी गरिदै आएका सडक खण्डअन्तर्गत सिसडोल स्थीत क्षेत्रका सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै महानगरलाई पत्र पठाएको थियो । समितिको बैठकमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो ।
महानगरले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ ।