
काठमाडौँ । भारतको मध्य प्रदशेको धार जिल्लाको खलघाट सञ्जय सेतु नजिकै यात्रीले भरिएको महाराष्ट्र राज्य यातायातको एउटा बस नदीमा खसेको छ । यो दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु पुष्टि भइसकेको छ र १५ जनालाई सुरक्षित निकालिएको छ । मिडियामा आइरहेको जानकारी अनुसार यो बस इन्दौरबाट पुणे जाँदै थियो ।
बस खलघाट सञ्जय सेतु पुल नजिकै पुगेपछि सन्तुलन बिग्रिएका कारण नदीमा खसेको बताइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनामाथि दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् ।
यसैबीच भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ ।
संसदको वर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन ।
त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो । ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ ।
मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् । त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।
भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे नेतृत्वको गुट र उद्धव ठाकरेको नेतृत्वमा रहेको गुटले पनि उनलाई समर्थन गरिरहेको छ ।
विपक्षी उम्मेदवार यशवंत सिन्हालाई समर्थन गर्ने ठाकरे गुटले १६ सांसदहरूले उद्धव ठाकरेलाई भेटेर मुर्मुलाई मतदान गर्न सुझाव दिएको छ ।