
काठमाडौँ । एउटा कार्गो जहाज उडेको केहि समयमै दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। यो ग्रिसको खबर हो ।
समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।
जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो।
हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो। जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।
ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।
यता भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ । सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ । इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ ।
पछिल्लो दुई हप्तामा कुनै भारतीय विमान समस्या आएर कराँचीमा ल्यान्डिङ गर्नुपरेको यो दोस्रो अवसर हो । यसअघि पाँच जुलाईमा स्पाइस जेटको विमानमा समस्या देखिएपछि कराँचीमा आपत्कालीन अवतरण गरिएको थियो ।
सो विमान नयाँ दिल्लीबाट दुबई गइरहेको थियो । गत १४ जुलाईमा इन्डिगोको विमान जयपुरमा आपत्कालीन अवतरण गरिएको थियो । त्यतिबेला इन्जिनमा भाइब्रेसनको समस्या देखिएको थियो ।