
काठमाडौं । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।
हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् चालक फरार छन् । उता कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।
यसैबीच लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए ।
त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ । उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।