
काठमाडौं । भ्रष्टाचारको आरोपमा म्यान्मारको राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ ।
आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् ।
सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो र पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।
लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत आरोप लगाएको थियो ।
को हुन् सुकी ?
सुकीको जन्म सन् १९४५ जुन १९ मा म्यानमारको रंगुनमा भएको थियो । अंग्रेजविरुद्ध लडेर म्यानमारलाई स्वतन्त्र बनाउन नेतृत्वदायी भूमिका खेलेका उनका पिता आङ सानलाई आधुनिक म्यान्मारका पिताको रुपमा लिइन्छ । त्यस्तै सुकीकी आमा खिन की म्यानमार स्वतन्त्र भएपछि भारत र नेपालका लागि राजदूत थिइन् ।
सुकीले दिल्ली विश्वविद्यालयबाट सन् १९६४ मा राजनीतिशास्त्रमा स्नातक गरिन् भने सन् १९६८ मा अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्रमै एमए उत्तीर्ण गरिन् ।
उनको विवाह सन् १९७२ मा बेलायती नागरिक माइकल एरिससँग भएको थियो । उनका एलेक्जेन्डर एरिस र किम एरिस दुई छोराहरु छन् ।
सुकीकी आमा खिन की नेपाल र भारतका लागि राजदुत भएका बेलामा उनी धेरैपटक नेपाल आएकी थिइन् ।
विवाह गरेपछि पनि पतिसँगै उनी धेरैपटक नेपाल आएकी थिइन् । उनी आफूलाई नेपाल धेरै मन पर्ने बताउँछिन् । नेपालको सुन्दरताबाट प्रभावित भई उनले ‘लेट्स भिजिट नेपाल’ शीर्षकको पुस्तकसमेत लेखेकी छिन् ।