
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा प्रवक्ता कृष्णबहादुर महराले सरकारले ल्याएको बजेट सैद्धान्तिक रुपमा राम्रो भएको बताउँदै आफ्नो समर्थन रहेको बताएका छन् । सोमबार संवाद डबलीमा ४५ औं जुगेडी किसान संघर्ष, ३१ औं किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सो कुरा बताएका हुन् ।
प्रवक्ता महराले बजेट सैद्धान्तिक रुपमा राम्रो भएर मात्रै नपुग्ने भन्दै किसानको उत्पादनमुखी हुनुपर्ने बताए । “हाम्रो देश कृषि प्रधान देश हो, सरकारले उत्पादनमुखी बजेट ल्याउनुपर्छ र उत्पादनमा अनुदान दिनुपर्छ, त्यसपछि बजारीकरण” महराले भने । उनले किसानलाई आत्मनिर्भर बनाउन जोड दिनुपर्ने बताए ।
एक अर्को प्रसंगमा एमसीसीले विदेशी चलखेल तथा हस्तक्षेपको ढोका खोलेको र त्यही ढोकाबाट एसपीपी आएको बताए । उनले सबैको विरोधपछि एसपीपी रोकिएको बताउँदै सेलाउँदै जाँदा भित्रभित्रै सम्झौता हुने शंका रहेको बताए ।
“एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दनौं भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरुले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ । तर, मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?” महराले भने । देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने महराले धारणा राखे ।
विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति सम्भव नभएको बताउँदै महराले भने, “राष्ट्रिय स्वाधिनताको आन्दोलनपछि मात्र किसान मुक्ति सम्भव छ, त्यसैले सम्पूर्ण किसानहरु मुक्ति आन्दोलनमा प्रतिवद्ध हुनुपर्छ ।” अवस्था गम्भीर भएपनि निरास हुनेभन्दा साम्राज्यवादी हस्तक्षेप र सामन्तवादी उत्पीडनविरुद्ध किसान एक जुट हुुनुपर्ने बताए । किसानको समर्थन र सहभागीताकै कारण जनयुद्धबाट अहिलेको परिवर्तन प्राप्त भएको बताए ।
कार्यक्रममा किसान नेता हिरालाल महर्जन, माओवादी केन्द्रका केन्द्रीय सदस्य रणेन्द्र बराली, माओवादी केन्द्रीय सदस्य सुनिल मानन्धरले पनि राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानले हक अधिकार प्राप्त गर्ने धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता किसान नेता चित्रबहादुर श्रेष्ठ गरेको थिए भने संचालन नहेन्द्र खड्काले गरेका थिए ।