आज :

तुलसीपुरमा बाटो खन्दा भेटियो दुई सय वर्ष पुरानो गाड धन, प्रहरी समेत चकित, भिडियोसहित

  • अनलाइन डबली

दाङ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा फरक दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर सिमराटोलका स्थानीय सबै कार्यालय पुगेका थिए।

उनीहरू कुनै झगडा हेर्न त्यहाँ पुगेका थिएनन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्रयाक खोल्ने काम भइरहेको थियो।

चार दिन अगाडि नयाँ बाटो खन्ने क्रममा जेसिबी अपरेटरले एउटा कसौडीमा केही ‘गाड धन’ फेला पारेका थिए। त्यो धन उनैले लगे। प्रहरीले त्यसबारे जानकारी पाएपछि शनिबार खोजेर कार्यालयमा ल्यायो।

त्यो धन पुराना चाँदीका सिक्काहरू हुन्। सिक्काहरू फेला परेपछि उनीहरू खुसीयाली त्यहाँ पुगेका हुन्। त्यो दुई सय वर्ष पुराना चाँदीका सिक्काहरू भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ थान सिक्काहरू एउटा कसौडीमा राखिएको अवस्थामा फेला परेको बताए। केही सिक्काहरू १८०६ साल सम्मका रहेका छन्।

रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर-१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्र्याक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए।

उनले फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्। चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ। उनले ती सिक्काहरू आफ्नो घरमा लिएर गएका थिए।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर अर्को प्लास्टिकको झोलामा राखेका थिए। अहिले उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्र्याक खोल्न दुई वटा जेसिबी प्रयोग गरिएको थियो।

गाउँले आफैंले पैसा संकलन गरेर काम गरिरहेका थिए। एउटाका चालक सुवाशचन्द्र चौधरी छन् भने अर्कोका चालक सल्यान कपुरकोट गाउँपालिका बस्ने राजन खड्का छन्। बुधबार अपरान्ह पौने ५ बजे अगाडि-अगाडि चौधरी थिए। उनको पछाडि खड्का थिए।

बाटो खन्दै गर्दा चौधरीले जेसिबी रोकेर ओर्लिए। उनले एउटा भाँडो झिके। त्यो दृश्य खड्काले पनि देखे। चौधरीले आफ्नो जेसिबीको डिक्कीमा लगेर राखे। यता खड्काको चासो बढ्यो। उनले चौधरीका सहचालकलाई बोलाएर जानकारी लिइहाले।

त्यसपछि खड्काले पनि चौधरीलाई फोन गरे। फोन गरेर जानकारी लिँदा उनले सो कुरा स्वीकार्न मानेनन्। तर पछि खड्काले आफूलाई भाग नदिए गाउँलेलाई भनिदिने चेतावनी दिए। चेतावनीपछि उनले फेला परेको सिक्काहरूमध्ये आधा दिने सहमत भए। केहीबेरमा घर जाने भन्दै चौधरी काम छाडेर हिँडे। खड्कालाई दक्षिणतिर आउनु भनेर उनी विश्वास दिलाएर हिँडेका थिए।

शंका लागेर खड्काले फोन पनि गरे। तर लागेन। उनले सिम कार्ड नै भाँचिसकेका रहेछन्। खड्काले त्यस साँझ केही पनि गरेनन्। एक दिनभर मौन नै बसे। तर चौधरी सम्पर्कमा आएनन्। उनीहरूबीच पहिले चिनजान पनि थिएन। त्यसपछि खड्काले जग्गाधनी शोभा भण्डारीलाई उनको खेतमा गाडिएको अवस्थामा धन फेला परेको भन्ने सुनाए।

‘तपाईंको खेतमा त गाडेको धेरै खतरा धन फेला पर्‍यो भनेर मैले मजाकमै भनिदिएँ,’ खड्काले भने, ‘उहाँले खै त त्यो धन भनेर सोधेपछि मैले त्यो सबै अर्का जेसिबी चालकले लगेको सत्य कुरा भनिदिएँ।’ भण्डारीले पनि त्यो कुरा गाउँमा सुनाइन्। विस्तारै त्यो कुरा गोटीखोला अस्थायी प्रहरी चौकीका प्रहरी अधिकारी पुग्यो।

चौधरीको खोजी गर्न र फेला परेको गाडेको धन के कति हो? त्यसबारे चासो दिन प्रहरीलाई गाउँलेले आग्रह गरे। इलाका प्रहरी कार्यालय तुलसीपुरमा यो खबर पुगेपछि प्रहरीले चौधरीलाई खोज्न थाल्यो।

प्रहरीले उनको सम्पर्क नम्बर पत्ता लगाएर बोलाए। उनीमाथि सोधपुछ गर्दा पनि स्वीकारेनन्। तर उनले पछि स्वीकारे। त्यसपछि शनिबार दिउँसो प्रहरी निरीक्षक बखतबहादुर शाहीसहितको टोली उनको घर पुगेर बरामद गरेको हो।

प्रहरीले बरामद गरेको बताएपनि जग्गाधनी सबै मुद्रा बरामद भए/नभएकोमा आशंका व्यक्त गरिन्। ‘मैले सुनेको त्यो कसौडी भरी गाडेको धन थियो रे,’ उनले थपिन्, ‘तर आज हेर्दा कसौडीको पिंधसम्म मात्रै पैसा देखियो। मलाई पटक्कै विश्वास लागिरहेको छैन।’

प्रहरी प्रशासनले यसको स्वतन्त्र रूपमा खोजी गरी सत्य कुरा सार्वजनिक गर्नुपर्ने माग गरिन्। साथै उनले फेला परेको प्राचीन मुद्रा निर्माणाधीन नयाँ बाटो बनाउन खर्चिनु पर्ने धारणा राखिन्।

‘त्यो गाडेको धन मेरै खेतमा गाडेको अवस्थामा फेला परेको हो,’ उनले भनिन्, ‘चालकले फेला पारे पनि दुई चालक बीचमा भागबन्डा नमिलेपछि घरमै पुर्‍याएको धन फेला परेको हो। अब यसलाई सोही बाटो निर्माणका लगाउनुपर्छ।’ फेला परेको मुद्राको ल्याब परीक्षण समेत गराउने प्रहरीले जानकारी दिएको छ।भिडियो: सेताेपाटी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal