
काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू फर्किएका छन्। काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको थियाे ।
अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए। उनका अनुसार प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे।
‘फोहोर बोकेको गाडी फर्किएको छ। प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘प्रहरी पनि परिचालन गरिएको छ।’ यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ।
बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए।
‘हामी सबै यहाँ डाँडामै छौं। पक्राउ परेकाहरू वृद्ध, अशक्तहरू हुन्। उनीहरूलाई प्रहरीले घरबाट लगेको छ,’ उनले भने,‘हामी यहाँ फोहोर फाल्न दिन्नौं। ३६५ दिन नै यहाँ बस्छौं।’
बञ्चरेडाँडामा खटिएका एक प्रहरीका अनुसार फोहोर बोकेका गाडी चालकहरू आफैं फर्किन लागेका हुन्। ‘गाडीमा क्षति पुग्छ भन्ने हिसाबले उनीहरू फर्किन लागेका हुन्,’ ती प्रहरीले भने।