
काठमाडौँ । इस्लामिक गणतन्त्र इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा ह त्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले जनाएको छ ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई ह त्याको अभियोग लगाइएको थियो । तर, कुनै पनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छैनन् नत सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको ह त्या गरेको अभियोग लागेको थियो । उनी सन् २०१९ मा पक्राउ परेकी थिइन् ।
यस्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् ।
‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने ।
वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उनले आग्रह गरे ।
निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उनले समर्थकहरुलाई अनुरोध गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसंग कोट्याउँदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाए ।