
काठमाडौँ । नेकपा (एमाले)ले म्यादी प्रहरी भर्नामा आफ्ना कार्यकर्ता सिफारिस गरेको छ । म्यादी प्रहरी भर्नामा लिखित र मौखिक परीक्षा दिनुपर्ने भनिएपनि एमालेले कार्यकर्ता र नेता कार्यकर्ताका परिवारका सदस्यलाई म्यादी प्रहरी भर्नाको लागि लेटरप्याडमै सिफारिस गरेको ।
एमाले अछामले पार्टीको लेटरप्याडमै ३० जना कार्यकर्ता र नेताका आसेपासेलाई म्यादी प्रहरी भर्नाको लागि सिफारिस गरेको हो । २०७८ चैत्र १७ गतेको मितिमा सिफारिस गरिएको छ । पत्रमा ‘म्यादी प्रहरी २०७८ मा सिफारिस विवरण’ लेखेर दर्ता नम्बरसहित ३० जनाको नाम समावेश गरिएको छ ।
एमालेको सिफारिसले म्यादी प्रहरीमाथि नै प्रश्न उठाएको छ । पहुँचकै आधारमा केहीले म्यादी प्रहरीमा भर्ना पाउने भएपछि एमालेसँग स्थानीय आक्रोसित भएका छन् ।
यस विषयमा बुझ्न हामीले एमाले अछामका अध्यक्ष चन्द्र बोहोरासँग सम्पर्क गरेका थियौँ । तर, बोहराले फोन उठाएनन् । स्थानीय चुनाव नजिकिँदै जाँदा जिल्लामा राजनीतिक पार्टीका गतिविधि पनि बढेका छन् । अछाममा १० पालिका र ९१ वडा रहेका छन् । सत्ता गठबन्धन तीन दलले यसअघि नै सबै पालिका र वडामा चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । तीन दलको यो निर्णयले एमालेलाई चुनौती थपेको छ ।
एमालेले पनि विप्लव नेतृत्वको नेकपा र राप्रपासँग चुनावी तालमेलको लागि छलफल चलाइरहेको छ । तर, औपचारिक निर्णय भने भएको छैन ।
आजबाट निर्वाचन आउन ३३ दिन मात्रै बाँकी छन् । निर्वाचन आयोगले आचारसंहित जारी गरिसकेको छ ।