काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गरेको विरोधमा आज नेपाल बन्द गरिएको छ । विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादीसहित ६ दल र दुई मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेपनि लामो दुरीका सवारी साधान चलेका छैनन् भने शैक्षिक संस्था र बजार बन्द छन् । बन्दलाई शसक्त बनाउने ६ दलले घोषण गरेपनि काठमाडौंका सडकमा सवारी सधानको चाँप बढ्दै गएको छ । बन्दकर्तालाई प्रहरीले तितरवितर गरेको छ ।
एमसीसी खारेजीको लागि सडकमा निस्किएको ६ दलीय मोर्चाको आइतबार साँझ बसेको बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, वि’रोध र देशव्यापी जनस’ङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले बताएको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
नेपाल बन्दको घोषणासहित संयुक्त प्रेस विज्ञप्तिमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले हस्ताक्षार गरेका थिए ।