
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान आज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
विश्वसको मत नपाउँदे निश्चित भएपछि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे गएको ११ गते नियुक्त भएका थिए ।
मुख्यमन्त्री पाण्डेले विश्वसको मत लिने प्रयोजनको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेशसभामा १०९ प्रदेश सभा सदस्य कायम रहेका छन् । बहुमतको लागि ५५ सदस्य आवश्यक हुन्छ ।
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन पाएका पाण्डेले विश्वासको मत पाउने निश्चित जस्तै छ ।