
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ । कम्पनीले ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जस मध्ये कम्पनीका कर्मचारीहरुका लागि ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार छुट्ट्याइएको छ । सामुहिक लगानी कोषहरुले ५ प्रतिशत अर्थात ४ लाख ५० हजार पाउनेछन् भने बाँकि ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपिओमा सर्वसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिने छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्कासन गरेको थियो जुन अहिले बाँडफाँड भईसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्न लागेको हो।