
काठमाडौँ । सीमा सुरक्षा फौज फिर्ता गर्ने भारतको प्रस्तावलाई चीनले अस्वीकार गरेको छ । चीनले भारतकोे उक्त प्रस्ताव गरेको केही दिनभित्रै आफ्नो सेनाको लागि सीमा क्षेत्रमा अत्याधुनिक हतियार सैन्य उपलब्ध गराएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको हो । हिमाली क्षेत्रमा रहेको भारतीय सीमा नजिकैको सो युनिटको रात्रीकालीन सैन्य अभ्यासका लागि अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराएको समाचारमा उल्लेख गरिएको छ ।
चीनले यसअघि यस्तो खाले हतियार सीमा क्षेत्रमा पठाएको थिएन । शरद ऋतुको सुरुवातसँगै सिनजियाङका विभिन्न सैन्य बलले रात्रिकालीन सैन्य अभ्यासका लागि भारतीय सीमानजिकै रहेको करिब ५ हजार उचाईमा अत्याधुनिक उपकरणहरु पु¥याइरहेको पिएलए डेलीले समाचारमा उल्लेख गरेको छ ।
जनमुक्ति सेनाका कम्पनी कमाण्डर याङ याङले सो क्षेत्रमा अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराएको पुष्टि गरे । उनले उच्च हिमाली क्षेत्रको चुनौतीपुर्ण वातावरण र सैन्य तालिम निकै कठिन हुने भएकोले तालिका र मागलाई परिमार्जन गरेको प्रतिक्रिया दिए ।
पिएलएका पुर्व प्रशिक्षक सङ जोङपिङका अनुसार पुरानो जेनेरेसनको जे–७ फाइटर जेटको सट्टा अत्याधुनिक जे–१६ बहुउपयोगी युद्दक उपकरणसँगै नयाँखाले पिएचएल ११ ट्रक, बहु प्रणालिमा आधारित स्वचालित १२२ मिलिमिटरका रकेट लन्चर आदि हिमाली क्षेत्रमा राखिएका छन् ।
“सबैखाले हतियार र उपकरणहरु नियमित ड्रिलमार्फत बारम्बार परीक्षण गर्नुपर्छ । र लडाकु विमानका लागि विशेषज्ञसँगै तालिम लिनुपर्छ” सङले भने । दी वेस्टर्न थिएटर कमान्डले सिनजियाङ र तिब्बती सैनिकलगायतले भारतसँगको आफ्नो सीमाको सुरक्षाको लागि आफैँ जिम्मेवार हुने बताएको छ ।
सन् २०१७ मा चीनको सेनाले भारतसँग जोडिएको हिमाली क्षेत्रको सीमा अवलोकलनका लागि डोक्लाम प्लेटमाथि अवलोकन पोष्ट निर्माण गरेको थियो ।