
काठमाडौँ । अल्पमतलाई छल्न राजिनामा दिएर पुनः नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ४२ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको छ ।
आजै मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । पोखरेल अल्पमतमा रहेको भन्दै ४२ वटै सांसदहरु हस्ताक्षर बोकेर प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनीहरुले अहिले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिइरहेका छन् ।
तत्कालिन (नेकपा)बाट निर्वाचित सांसद बिमला कुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजेसँगै मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए । अविश्वास प्रस्ताव टेवुल भए सरकार ढल्ने भएकोले मुख्यमन्त्री पोखरेलले एकाएक राजिनामा दिएर संसद अधिवेशन अन्त्य गरेका थिए ।
संसद अधिवेशन अन्तय गरेलगत्तै पोखरेल प्रदेश प्रमुखसँग आफू बहुमतमा रहेको भन्दै दाबी पेश गरेका थिए । पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएसँगै एमालेभित्रको विवाद सडकमै आयो । एक जना सांसदले राजिनामा दिए भने दुई जनाले माओवादी केन्द्रका मुख्यमन्त्रीका उम्मेदवार कुलप्रसाद केसीको पक्षमा उभिए ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् । उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी केन्द्र, नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो ।
अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षीले प्रदेश प्रमुख कार्यालय घेराउ गरिरहेका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्ध खानले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए ।
आफूलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै केसीले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् । योसँगै प्रदेश प्रमुखलाई थप समस्या पारेको छ ।