आज :

नेकपाले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा थप्यो, को को परे ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गरेको छ । विभिन्न जिम्मेवारी समाल्दै आएका देशभरीबाट ३१ जना नेताहरुलाई केन्द्रीय सदस्यमा थप गरेको छ ।

नेकपाले औपचारिक रुपमा जानकारी नदिएपनि पार्टीका नेता कार्यकर्ताहरुले सामाजिक संजाल फेसबुकमा पूर्णबहादुर सिंह, लालबहादुर बिसी, रामलाल विश्वकर्मा, दलबहादुर धामी, धिरिन्द्रा उपाध्याय, जुझारु, शरद ओली, सबिन पोख्रेल, बिबेक कुमाल, महान, सरद रसाइलीसहित ३१ जनालाई केन्द्रीय समिति थप गरेको भन्दै बधाई दिएका छन् ।

मंगलबार सम्पन्न बैठकले नयाँ परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसाथ गर्दै राज्य रूपान्तरणको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्ने मूल उद्देश्यसहितको नयाँ राजनीतिक प्रस्ताव पारित गरेको छ ।

बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको नयाँ राजनीतिक दस्ताबेजमा अग्रगामी राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद गर्ने विषय उल्लेख छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अग्रगामी राजनीतिक निकास र राज्य रूपान्तरणको सवाललाई मुख्य विषय बनाउँदै वर्तमान अवस्थामा देशको नेतृत्व लिने गरी जनवादी केन्द्रीयताको उच्च अभ्याससहित छलफल गरिएको छ ।

त्यसैगरी बैठकले पार्टीको कार्यनीतिक नारा बनाउँदै जनमत संग्रह र प्रगतिशील सरकार निर्माणलाई जनताको बीचमा लैजाने निर्णय गरेको छ । प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहलाई जनताका बीचमा घनीभूत रूपमा लग्नका लागि आफ्ना सबै तहका नेता–कार्यकर्तालाई जनतामा पठाउने पनि निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपाले वर्तमान संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतद्वारा टुङ्ग्याउने बताउँदै विद्यमान समस्यालाई जनमतसङ्ग्रहले मात्रै दिन सक्ने बैठकले निस्कर्ष निकालेको थियो ।

देशको बिग्रँदो अवस्थाबाट निकास दिनका लागि सचेत पहल गर्ने र त्यसका लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्रदेखि जसपालगायत सबै पार्टीसँग संवाद र छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । रणनीतिक संयुक्त मोर्चालाई नयाँ उचाइका साथ अगाडि बढाउने, विभिन्न कार्यक्रमहरू मोर्चामार्फत अघि बढाउने र क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियालाई जोड दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै नेता–कार्यकर्ता र जनतासँगको सम्बन्ध जीवन्त बनाउन र पार्टीका योजना जनतामा पुर्याउनका लागि सबै स्तरका नेता–कार्यकर्ताहरू प्रत्यक्ष जनताका बीचमा पुग्ने निर्णय पनि बैठकले गरेको छ ।

उक्त कार्ययोजना पूरा गर्न नेकपाले आगामी ४ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔँ, सुमधुर जनसम्बन्धसहित सृदृढ पार्टी निर्माण गरौंँ’ भन्ने मुख्य नारा रहेको उक्त अभियानमा नेकपाका नेता–कार्यकर्ताले जनतालाई आफ्नो पार्टीको नीति र कार्यक्रम बुझाउनुका साथै जनसेवा र उत्पादनमूलक कार्यमा सहभागी हुने निण्यि बैठकले गरेको छ ।

बैठकले कोरोना महामारीको समस्यालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सबै जनवर्गीय सङ्घ÷सङ्गठनहरूका भेला÷सम्मेलन स्थगित गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारसँग ३ बुँदे सहमतिपछि बन्दी रिहाइ र मुद्दा खारेजीको प्रक्रियामा गरिएको ढिलाइप्रति विशेष चासो, आशङ्का र प्रश्न गरेका थिए । जबाफमा महासचिव विप्लवले बन्दी बनाइएका सबै तहका नेता–कार्यकर्ताहरू सरकारसँग भएको सहमतिअनुसार छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै पार्टीका तर्फबाट थप पहल गर्ने जानकारी बैठकमा गराएका थिए ।

देश कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा कोरानोका विरुद्धको लडाइँ सबैको सरोकारको विषय भएकाले सबैलाई जागरुक बनाउनुका साथै कोरोनाविरुद्धको लडाइँमा पार्टीका तर्फबाट देशैभरि कार्यकर्ता परिचालन गर्ने र आफ्नो तर्फबाट पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सांगठानिक क्षेत्रमा ठूलो हेरफेर गरेको बताइएको छ । नयाँ राजनीतिक परिस्थितिका आधारमा आफ्ना एजेन्डाहरू प्रत्यक्ष र सहज रूपले जनतामा पुर्याउन सहज हुने गरी साङ्गठनिक संरचना हेरफेर गरेको बताइएको छ । त्यस्तै, आगामी महाधिवेशनका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal