
काठमाडौं । काठमाडौँको नागार्जुन जंगलमा डढेलो लागेका छ । आइतबार दिउँसो लागेको डढेलो नियन्त्रण बाहिर गइसकेको बताइएको छ । प्रहरीका अनुसार डढेलो नियन्त्रणभन्दा बाहिर गएकोले दमकलले मात्रै असम्भव भएको छ ।
डढेलो लागेको जानकारी हुनसाथ नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेका थिए । तर, जंगलमा आगो धेरै फैलिसकेकोले दमकलबाट नियन्त्रण लिन सकिएको छैन ।
आगो नियन्त्रणमा लिनको लागि हेलिकप्टरबाट पानी खसाल्ने सेनाले तयारी गरेको छ ।
यसैबीच कालिकोटको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् ।
पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालका अनुसार आगलागीबाट दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत ६ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले बताए ।
सुख्खायाम सुरु भएसँगै यो वर्ष धेरै आगलागी तथा डढेलोका घटना घटेका छन् । चैत्र महिनाको मध्यसम्म पुग्दा देशभर करिब ६ स्थानमा डढेलो लागेको थियो । आगलागी र डढेलोको प्रभावका कारण नेपालमा घातक तुवाँलो हटेको छैन । पानी नपरेकोले आगो नियन्त्रणमा लिन नसकिएको अधिकारीहरुले बताएका छन् ।