
काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै छ । यो जात्रा हरेक चैत्र कृष्ण औंसीका दिन मनाइन्छ । नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
सेनाले समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।
टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको भन्ने जनविश्वास छ ।
सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ ।
यो जात्रा उपत्यकामै फरक फरक शैलीमा मनाउने गरिन्छ । ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।
यसैबीच सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।