
काठमाडौँ । कोरोनाभाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत पर्साको वीरगंजका ६० वर्षीय पुरुषको निधन भएको हो ।
अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार शुक्रबार शुक्रबार ७ बजेतिर वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने उनको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साउन २४ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतक पुरुष उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित भएको बताइएको छ । उपचाररत उनको शुक्रबार साँझ स्वास्थ्य समस्या देखिएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १ पुगेको छ । यद्यपी स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न बाँकी छ ।
शुक्रबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९९ जनाको ज्यान गएको पुष्टि गरेको थियो । धनुषा र पर्सामा साँझ थप दुई जनाको ज्यान गएको छ ।
शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको थियो ।
त्यसैगरी शुक्रबार थप २४० जनाले कोरोना जितेर घर फर्किएका छन् । शुक्रबारसम्म देशभरि क्वारन्टिनमा १४ हजार ६३८ जना रहेका थिए । नेपालमा शुक्रबारसम्म ७ हजार ९१३ जनामा सक्रिय सङ्क्रमण छ । अहिलेसम्म १७ हजार ७७ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले परीक्षणको दायरा पनि बढाएको छ । गएको २४ घण्टामा ११ हजार ५७५ वटा पीसीआर परीक्षण गरिएको थियो । शुक्रबारसम्म ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थियो । शुक्रबार आँकडा हेर्दा लगातार चौथो दिन उपत्यकामा १ सयभन्दा धेरै संक्रमित भेटिएका थिए ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । कोरोना सक्रमित अत्याधिक देखिए पछि काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ ।
कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले भदौ १५ गतेसम्मलाई भिडभाडजन्य गतिविधिमा पूर्णरुपमा रोक लगाएको छ । शुक्रबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो ।