News Portal

  • घर हुँदैमा धनी र बहालमा बस्‍ने बित्तिकै गरिव हुने होइन, पीडितलाई मात्र राहतः अध्यक्ष के.सी.

    ‘हाम्रै अगाडीबाट हजारौं मानिसले पैदलहुँदै शहर छाडे, यात्रीका दुःखमा आँखा रसाए’

    डबली संवाददाता
    ११६० पटक

    चन्द्रागिरी नगरपालिका वाड नम्बर ७ का अध्यक्ष शम्भुकुमार के.सीसँग लकडाउन, कोरोना रोकथाम तथा नियन्त्रण र राहतका विषयमा अनलाइन डबलीको लागि कुराकानी गरिएको छ ।

    दिनचर्या कसरी बितिरहेको छ ?

    सायद अरुलाई समय बिताउन गाह्रो भएको छ, विशेष गरेर आम जनता, जो घरबाट बाहिर निस्कन पाउनुभएको छैन र कुनै काम पनि गर्ने अवस्था छैन । तर मेरो त हाम्रो वडाका जनताको दिनचर्या सहज बनाउनतिर नै व्यस्त छु भन्नु पर्यो ।

    तपाईँको वडामा कोरोनाको प्रभाव कतिको परेको छ ?

    हेर्नुस् कोरोनाले विश्वका ‘मै हुँ’ भन्ने देशहरुको हालत खराब गरेको छ, अनि हाम्रो देशमा पनि अहिले व्यापकरुपले असर परेको छ, प्रत्यक्ष अप्रत्यक्ष यसको भयानक असर छ । यस अवस्थामा हाम्रो वडालाई पनि त्यसले नछुने त कुरै भएन । मानिसहरुको रोजगार छैन, त्यति मात्रै होइन दैनिक रोजिरोटीको वातावरण नै रोकिएको छ । दुनियाँका मानिसले सायद अनुभूति गरे होलान् कि ‘काम गर्नु र सक्रिय हुनुभन्दा कैयौं गुणा सकस रहेछ चुप लागेर बस्नु’ ।

    लकडाउन पूर्व नै नेपालमा पनि यसको पूर्वआभास भएको थियो, तपाईँहरुले त्यो समयमा के के गर्नुभयो त ?

    यो प्रश्न खासमा हामीजस्तो सबैभन्दा तल्लो इकाई (वडा)लाई सोध्नेभन्दा पनि सम्माननिय प्रधानमन्त्री केपी ओलीजीलाई सोध्नु पर्ने हो जस्तो लाग्छ, तर पनि तपाईँले सोधिहाल्नु भयो ठिक छ । लकडाउन चैत्र ११ गतेबाट लागु भयो हामीले ९ गते कार्यपालिकाको बैठक बोलाएर हाम्रो नगरपालिका भित्रका जनतालाई कसरी हुन्छ हाम्रो अधिकार क्षेत्रभित्र रहेर जतिसक्दो उचित व्यवस्थापन गर्ने निर्णय गरेका थियौं । त्यही निर्णयको अधारमा कम्तिमा अहिलेसम्म काम गरिरहेका छौं ।

    सरकारलाई नै सोध्नु पर्ने भन्ने आयो खास किन ?

    यसमा हाम्रो सरकारप्रति केही गुनासो थियो, किनभने नेपालमा पनि लकडाउनको पूर्वआभास पहिले नै थियो, जनतालाई मानसिक तथा अन्य भौतिकरुपले तयारी हुने मौका नै नदिई एक्कासी लकडाउन गरियो । कम्तिमा एक हप्ताको समय दिनुपथ्र्यो, ता कि बाहिर जाने बाहिर जान्थे, भित्र आउने भित्रीने थिए । मानिसले व्यवस्थितरुपले किनमेल गर्ने मौका पाउँथे । एसइई परिक्षा रोकीहाल्नु पर्ने पनि थिएन । यो समस्या हामीले नेतृत्व गरेको वडा बासीहरुको मात्रै नभएर देशभरीकै हो भन्ने लाग्छ । खयर केही छैन, सरकारले यसबाट पाठ सिक्नु पर्छ भन्ने मात्रै कुरा हो ।

    यसबीचमा के-के समस्यासँग सामना गर्नु भयो ?

    हामीले यसबीचमा जनताले निकै बढी सास्ती खेपेको पायौं, खासमा राजधानी बाहिर–भित्र गर्ने मुल नाकाकारुपमा रहने थानकोट तथा चेकपोष्ट यहीँ पर्ने हुँदा हामीले जनताको सेवा सक्दो गरियो तर हामी स्थानिय सरकारको एक सानो इकाई भएकोले त्यति धेरै प्रभावकारीरुपले उहाँहरुको समस्यामा मल्हमपट्टि गर्न सक्ने कुरा भएन ।

    के–के समस्याहरु ?

    ती समस्या त धेरै छन्, तर खासगरेर केही समय अगाडी हजारौं मानिसहरुले राजधानी छाडेको तपाईहरु जस्तै मिडियाका साथिहरुले नै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले त्यस विषयमा पनि व्या‌ग्यत्मक तरिकाले (प्रशासन र प्रहरीले थाहा नपाउने, तर पत्रकारले मात्रै कसरी थाहा पाउँछन्) भन्ने प्रतिक्रिया दिनुभएको थियो । सयौं मानिसले पैदलै भएपनि कष्टकर यात्रामार्फत राजधानी छाड्नुभयो । त्यसपछि केही मन्त्री, नेताले गाडिको व्यवस्था गरेर गाउँपनि पठाए । त्यसपछि सरकारले अघोषितरुपले बाहिर जानदिएको थियो, जुन सबैलाई थाहा छ । हामीले पनि थानकोटमा बसेर कयौं दिन ती यात्रीहरुलाई सक्दो खानेकुरा दिएर पठायौं ।

    त्यसैगरी हाम्रो वडाका मानिसहरुलाई विभिन्न क्लबका साथिहरुसँग मिलेर गाडि भाडा बाटो खर्चसमेतको व्यवस्था गरेर पठायौं । राज्य नै अव्यवस्थित र गैरजिम्मेवार भएको व्यापक मिडियामा आयो । प्रधानमन्त्री ब्यांग्य गर्नुहुन्छ, क्याबिनेट मन्त्री आफ्ना जनतालाई गाडीबाट पठाउनुहुन्छ, तर पहुँच नभएका जनता भोकभोकै हप्तौं लाग्नेबाटो पैदलैबाट तय गर्छन्, जनु हाम्रै आँखा अगाडीबाट हुँदै थयो, त्यस्तो दृष्य र अवस्थाबाट म निकै भावुक भएको थिएँ, कतिपटक आँखा रसाएका पनि थए, सायद धैरैको मन रोएको थियो होला, तर त्योभन्दा पनि केही गर्नसक्ने क्षमतै थिएन ।

    अनि अहिले यस वडामा राहतको कस्तो व्यवस्था भएको छ ?

    हामीले जे होस् व्यापक स्वयम्सेवक साथीहरु परिचालन गरेर हाम्रो वडावासीहरुलाई सक्दो सेवा दिने प्रयास गरेका छौं । हामीले केही समय अघि घरदैलो अभियान पनि चलाएका थियौं ता की समस्या परेको खण्डमा हामी छौं है भन्ने मनोवैज्ञानिक बल पैदा गर्नु पनि थियो । यहाँ भएका विपन्न जनताहरुलाई एकपटक नगरपालिकाले दिएको राहत तथा अर्को चोटी विभिन्न क्लबहरुको सहयोग र मनकारी दाताहरुको सहयोगमा गरेर २ पटक राहत वितरण गरिसक्यौं ।

    घर–दैलो अभियानमा के के गर्नुभयो र राहतमा केके दिनु भयो ?

    हाम्रो वडा भित्र रहनुभएका १ हजार ६ सय ३७ घरपरिवारलाई सुरक्षाका साधनहरु अवलम्बन गरी स्वास्थ्यकर्मी, स्वयम्सेवकको साथमा प्रत्येकको ज्वरो नाप्ने तथा जनचेतना जगाउने काम गरियो । साथै अपरिचित,विदेशबाट आएका तथा उपत्यका बाहिरबाट आएकाहरुबारे जानकारी दिन पनि आग्रह गरेका थियौं । त्यस्तै त्यो घर दैलो कार्यक्रमबाट ‘सबै घरवाला धनी हुँदैनन्, सबै डेरावाल गरिव हुँदैनन्’ भन्ने वास्तविकता पनि पत्ता लगायौं । यसर्थ हामीले ९ सय ९५ परिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, २ किलो चिउरा, १ किलो चीनी, २ ओटा हात धुने साबुन्, माक्स वितरण गर्यौं ।

    प्रतिकृया दिनुहोस्