
काठमाडौं । आजदेखि महानगरीय ट्राफिक प्रहरीले १५ दिनका लागि सडकमा पाँच सय बढी युवा ट्राफिक स्वयंसेवक परिचालन गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी, राष्ट्रिय युवा परिषद र यूएन नेपालको संयुक्त आयोजनामा युवा परिचालन वर्ष २०७६ मा रहेर सञ्चालित सो अभियानको आज गृहमन्त्री रामबहादुर थापाले शुभारम्भ गरेका छन् ।
सो अवसरमा उनले स्वयंसेवकहरुलाई ज्याकेट र परिचयपत्र वितरण गरे । नजिकिँदो चाडबाडका क्रममा ट्राफिक चाप बढ्ने र ठगीका घटनाहरु समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अभियानमा परिचालित युवा विद्यार्थीले काम गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्याकाका सडकमा चाप हुने क्षेत्रमा रहेर युवा स्वयंसेवकहरुले पैदलयात्री तथा सवारी चालकहरुलाई ट्राफिक नियमबारे जनचेतना दिने छन् ।
अभियान उदघाटन गर्दै गृहमन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै अहिले युवा स्वयंसेवकहले गर्ने ट्राफिक सुरक्षासम्बन्धी कामले नेपाल भ्रमण वर्षलाईसमेत सहयोग गर्ने बताए ।