News Portal

  • दुईतिहाईको सरकार असनको साँढेजस्तैः चलाउने

    १२६५ पटक

    निवर्तमान नेविसंघ सह–महामन्त्री जो नेपाली महिला राजनीतिक आकाशमा मात्रै नभएर सिंगो नेपाली राजनीतिमा एक अशा लाग्दो युवा नेतृको रुपमा अगाडि बढिरहेकी छन् । उनि नेपाली काँग्रेसकी महासमिति सदस्य पनि छन् । अछामको पञ्‍चदेवल विनायक नगरपालिकाकी उपप्रमुख समेत रहेकी युवा नेतृ अम्बिका चलाउनेसँग अनलाइन डबलीका लागि धनन्जय बुढाले गरेको कुराकानी ।

    लामो समयपछि नेपाल विद्यार्थी संघ एक सुदृढ संगठनकारुपमा अगाडि आएको थियो फेरि पनि समयमै नेतृत्व छान्न किन सकेन ?

    हो एक दशकपछि महाधिवेशन भयो, जुन निकै लामो समय हो, त्यसकारण पनि हामी एकदम उत्साहका साथ महाधिवेशनमा उपस्थित भयौं । जुन उत्साह लिएर केन्द्रिय समितिमा आयौं र थुप्रै हाम्रा जिम्मेवारी भए । हामी एघारौं महाधिवेशनमा आइसकेपछि हाम्रो पार्टी र यो मुलुक संघीय संरचनामा, स्थानीय प्रदेश तहको निर्वाचनमा जानुपर्ने भयो । त्यसबेला संविधानको कार्यान्वयनको सन्दर्भ थियो । र त्यसमा पनि पार्टीको तर्फमा माहोल सिर्जना गर्न, पार्टीलाई चुनावमा जिताउन हामी युवा विद्यार्थीहरु खटिनुपर्ने भयो र हामीले संगठनलाई त्यता मोड्यौं । त्यो सँगसँगै हाम्रै कार्यकालमा थुप्रै वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भयो र यसमा पनि हामी लाग्यौं ।

    स्वतन्त्र विद्यार्थीको चुनावमा नेपाल विद्यार्थी संघ देशको पहिलो विद्यार्थी संगठनको रुपमा स्थापित भयो । हाम्रो कार्यकाल २ वर्ष ३ महिनाको थियो । हामीले त्यो कार्यकालमा महाधिवेशन सकाइसक्नुपर्ने थियो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका सँगसँगै विवादित जिल्लाहरुमा अधिवेशन गर्नुपर्ने हाम्रो जिम्मेवारी थियो । त्यस्तै पार्टीलाई आम निर्वाचनमा चुनाव जिताउनलाई संविधानको कार्यान्वयनको बाटोमा जानुपर्ने अवस्था पनि थियो । ती जिम्मेवारी हामीले सँगसँगै लिइराखेका थियौं । तर, हामीलाई समय अलि अपर्याप्त भयो । यहि सन्दर्भमा थुप्रै जिल्ला क्याम्पसको अधिवेशन गर्दापनि केन्द्रिय अधिवेशनको डेटलाईनअनुसार हामीले महाधिवेशन गर्न सकेनौं । यो गर्न नसक्दा हामीले पार्टीसँग थप समय मागेको थियौैं तर पार्टीले हामीलाई थप समय दिएन । थप समय नदिँदा नेपाल विद्यार्थी संघको अध्यक्षले राजिनामा दिनुभयो । राजिनामा पछि झण्डै ५ महिना भइसक्यो नेपाल विद्यार्थी संघको नेतृत्व विहिन छ ।

    खास के समस्या हो तपाईँहरुको संगठनमा ?

    नेपाल विद्यार्थी संघको नेतृत्वविहिन अवस्थामा हामी छौं । पार्टीको केन्द्रीय समितिमा नेविसंघको एघारौं महाधिवेशनबाट विधान बन्यो । जसमा उमेरको कुरा गर्दा हाम्रो विधानले बाह्रौं महाधिवेशनबाट ३२ वर्ष माथिको विद्यार्थी सदस्य नरहने व्यवस्था विधानमै उल्लेख गर्यौं । हमीले अधिवेशन सम्पन्न गरेका २१÷२२ जिल्लार थुप्रै क्याम्पसहरुमा विधानअनुसार ३२ वर्ष मुनिका युवाहरुलाई मात्रै सदस्यता वितरण गरेका छौं । जुन विषय ७७ ओटै जिल्लाहरुमा बहस चलेको छ र समय अभावका कारण सबै जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । पार्टीभित्र मुलतः ३२ वर्षमाथि मान्ने वा त्यसभन्दा मुनि भन्ने बहस ५ महिना बितिसक्दासम्म पनि टुङ्गो नलाग्नु दुःखद कुरा हो । मेरो विचारमा पार्टीमा यो अनावश्यक विवाद हो । किनभने हामीले एघारौं महाधिवेशनबाट बाह्रौं महाधिवेशनमा गइसकेपछि ३२ वर्ष उमेर हद लाग्ने भन्ने विधानमै उल्लेख गरिसकेपछि कसैले व्यक्तिगत चाहना विद्यार्थी संगठनमा लाद्नु उचित होइन ।

    अब पनि अनावश्य रुपमा ३२ वर्ष मुनिकोलाई सदस्यता वितरण गर्ने र ३२ वर्ष माथिकोलाई नेविसंघको नेता बनाउने भन्ने कुरा चाहिँ हामीलाई कदापी स्वीकार्य हुँदैन । अब ३२ वर्ष मुनिकै मान्छेलाई नेविसंघको नेतृत्व ल्याउनुपर्छ यसको विकल्पमा हामी सोच्न सक्दैनौं । पार्टीको केन्द्रिय समितिले पार्टी सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय लिने जिम्मा दिइएको छ, तर सभापतिज्यूले पनि अहिलेसम्म निर्णय लिन सक्नुभएन ।

    यो समयमा नेविसंघ बढी सक्रिय हुनुपर्ने अवस्थामा आन्तरिक समस्यामा फस्नु भयो नी ?

    हो, अहिले नेतृत्वविहिन नेपाल विद्यार्थी संघको त्यो एजेण्डाले अहिले निकास पाउँछ भन्ने हाम्रो विश्वास छ । किनभने नेपालमा अहिले दुईतिहाईको सरकारमा जनताको जनसरोकारको कुुरालाई प्राथमिकतामा नराखेर माफिया, दलाल, ठेकेदारहरु हाबी भएका छन् । यो बेला राष्ट्रका लागि संवेदनशिल बेला छ । एकातिर विप्लव नेतृत्वको नेकपालाई राज्यले प्रतिबन्ध गर्‍यो । उहाँहरु चाहिँ अहिले प्रतिबन्धित अवस्थामा हुनुहुन्छ । अर्कोतिर राज्यले आतंक फैलाइएको छ ।

    हेर्नुस्, हिजो सुशिल कोइरालाले नेपालको संविधान जारी गर्दाखेरि भारतले संविधान हाम्रो अनुकुल जारी गर् वा यो मधेसको अनुकुल जारी गर् भनेर विभिन्न दुतहरु नेपालमा पठायो । तर, उहाँले मान्नु भएन । त्यसबेला पनि नेविसंघले उहाँलाई साथ दिएको थियो । अहिले दुईतिहाईको दम्बका कारण सरकार खुला साँढेजस्तै छ । त्यसलाई लागाम लगाउन हाम्रो सक्रियताको खाँचो छ ।

    तपाईँहरुले उमेरको हदबन्धी किन लगाउनु भयो ?

    पहिलो कुरा त हामीले उमेरको हदबन्धी निकै सोचेर–सम्झेर अनि छलफल गरेर मात्रै विधानमै ३२ वर्ष मुनिको नेतृत्व ल्याउनुपर्ने उल्लेख गरेका छौं । दोस्रो, कुरा त्यही विधानले निर्देशन गरेको बाटोलाई पकडेर अधिकांश जिल्ला र क्याम्पसमा सदस्यता बाँडेका छौं । अनि तेस्रो ब्यवहारीक कुरा भन्नुपर्दा ३२ वर्षसम्म कुनैपनि विद्यार्थीले उच्च शिक्षा हाँसिल गरेर घर फर्किसकेको हुन्छ । त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्ष उमेर हद छ । अब स्वतन्त्र युनियनको निर्वाचनमा चाहिँ २८ वर्षभन्दा माथिको व्यक्ति लड्न पाउँदैन । त्यसैले नेविसंघमा पनि त्यो ब्यवहारीक र वैज्ञानिक मापदण्डभित्र बस्नुपर्छ । न कि कुनै नेता वा व्यक्तिको अनुकुलताअनुुसार । त्यसैले नेपाल विद्यार्थी संघले अधिवेशन गर्छ र विद्यार्थीको नेता विद्यार्थी नै हुन्छ भन्ने हाम्रो कुरा छ ।

    नेविसंघ आन्तरिक समस्याका कारण सेलाएर गएको आरोप लागिरहेको छ, के भन्नुहुन्छ ?

    त्यस्तो त खासै होइन, बरु झण्डै ५ महिना भयो नेविसंघ नेतृत्वविहिन छ । अर्को कुरापनि के स्वकार्य छ भने कांग्रेसमा गुटगत राजनीति छ र यसले सिंगो मुलुकको प्रजातान्त्रिक माहौललाई कमजोर बनाएको छ । नेविसंघ पनि त्यसैको शिकार भएको छ । गुट–उपगुटमा रुमलिएको छ, जसको परिणाम देशमा फेरि राष्ट्रिय संकट सुरु भएको आभाष भएको छ । अर्कोतिर दुईतिहाईको दम्भमा बनेको सरकारले मनोमानित ढङ्गले काम गरिराखेको छ । जसले जनताको अधिकार नै कुण्ठित हुने, स्वतन्त्र प्रेसको घाँटी निमोठिने, मानवअधिकार नै हनन् हुने, जनजाति, पिछडिएको क्षेत्रको समुदायको अधिकार खोसिने र अधिकारको बोल्यो भने दमनको सामना गर्नुपर्ने अवस्था छ ।

    राजनीतिक दललाई प्रतिबन्ध लगाएर फासिवादमा उन्मुख छ यो सरकार । यसले फेरि गृहयुद्धमा देश जाने हो कि भन्ने पनि शंका छ । अहिले तपाईँ हेर्नुस्, सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम बजेट छ । जहाँजहाँ सत्ताशिनका ठूला मान्छे छन् त्यता अथाह बजेट छ, तर अन्यत्र कम छ । यसले सरकार संघीयता विरोधीका रुपमा उभिएको प्रष्ट हुन्छ । हुन त केपी ओली हिजो ‘बयलगडा चढेर अमेरिका पुगिँदैन’ भनेर अभिव्यक्त दिनुहुन्थ्यो । अहिले संघीय सरकारको दुईतिहाईको प्रधानमन्त्रि हुनुहुन्छ । ओलीलाई संघीय गणतन्त्र नेपालमा आउँदैन भन्ने विश्वास थियो तर नेपाली जनताले ल्याई छोडे । र अहिले त्यो संघीय संरचना असफल हुन्छ कि भन्ने डर एकातिर छ । त्यो बेला नेविसंघ जस्तो संगठन र नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले यसको विषयमा आम जनताको बीचमा कुराहरु लिन जरुरी छ । त्यसैले पनि नेपाल विद्यार्थी संघको नेतृत्व आवश्यक छ । पार्टीका नेताहरु यो बेलामा गम्भीर हुनपर्छ । नेपाल विद्यार्थी संघको नेतृत्व समयमा दिलाउनु पर्छ । यो ढिला भइसक्यो । हामी काम गरिराखेको थियौं । काम गरिराखेको कमिटी भङ्ग गरेर पार्टीले अहिले चाहिँ नयाँ नेतृत्व दिन सकेको छैन । यो काँग्रेस पार्टीलाई एकदमै ठूलो घाटा भइराखेको छ । यसले गर्दा पनि तपाईँले भनेजस्तै हामी सेलाएको भन्ने आरोप लागेको हो तर वास्तवमा त्यस्तो छैन ।

    नेपाली काँग्रेस कमजोर प्रतिपक्ष हुँदाको परिणा यस्तो भयो भन्छन् नि ?

    नेपाली काँग्रेस बलियो प्रतिपक्षको रुपमा भएन भन्ने जुन आरोप छ, त्यसमा केही हाम्रा कमजोरी छन्, त्यो सही हो । कस्ता कमजोरी छन् भने, नेपाली काँग्रेसका सांसदहरुले अलोकतान्त्रिक व्यवहार देखाउँदैनन्, बजेटको सुट्केस चाहिँ छोड्दैनन्, संसदका कुर्सी भाँच्दैनन्, टेबुल फोड्दैनन् बरु जिम्मेवार भएर विरोध गर्छन् । एजेण्डामा उभिएर जनताका अनि जनसरोकारका विषयवस्तुहरु, विकास निर्माणका विषयवस्तुहरु सदनमा एकदमै सभ्य, सालिन र भद्र भएर अराजक नभइकन कुरा उठाउनुहुन्छ । त्यसैले हाम्रा सांसदहरुको बोल्ने मुख पनि बन्द गर्ने प्रयत्न अहिले सांसदमा छ । जसलाई कमजोर, बलियो वा अरु नै के मान्नु हुन्छ ।

    मत परिणामले त तपाईँहरु कमजोर नै हो नि ?

    मतको परिणाम हेर्दा कमजोर हामी छैनौं । गणितीय रुपले चाहिँ नेपाली कांग्रेस पार्टीको संसदमा उपस्थिति कम भयो होला । तर, जनताको माझमा हाम्रो सत्तरी वर्षको इतिहास नेपालमा कमजोर छैन । त्यसैले हामी के हो भने समग्रमा मुलुकको जेठो राजनीतिक दल हो । हाम्रो इतिहास गर्व गर्न लायक छ । हामीले हाम्रो पार्टीको नेतृत्वमा जारि भएको संविधान र हाम्रै पार्टीको नेताले गनर््भएको कार्यान्वयनको अवस्थालाई हामीले लिएका छौं । त्यसकारण हाम्रा नेताहरु जिम्मेवार भएर संसदमा प्रस्तुत हुन्छन्, हाम्रा नेताहरु जिम्मेवार भएर सडकमा प्रस्तुत हुन्छन् । जसले गर्दा संघीय संरचना, लोकतान्त्रिक गणतन्त्र धरापमा नपरोस् ।

    जे भएपनि नेपाली कँग्रेस विगतमा जस्तो पहिलो वा प्रभावशाली रहेन नि ?

    मैले अघि पनि भने गणितीय हिसाबले ठूलो पार्टी थियो । त्यसपछि थर्ड पार्टी पोजिसनको पार्टी थियो । फस्ट् र थर्ड दुइटा मिलिसकेपछि सेकेन्डको आउने माक्स (नम्बर) त पछाडि पर्छ नि । जोड्दा खेरि पनि एक र तीनलाई जोड्दा चार हुन्छ । तर बीचको जुन दुर्ई छ त्यो दुई नै रहन्छ । र त्यो पनि हाम्रो पोजिसन घटेको होइन । जनताको बीचमा समानुपातिकको मत हेरे हुन्छ नि । पूर्वएमाओवादी र पूर्वएमाले मिलेर चुनाव लड्दा गणितीय हिसाबले हामी चाहिँ कमजोर परेकै हो । तर, हामी जनताका माझमा नेपाली कांग्रेस पार्टी नेपालमा कमजोर भन्ने छँदै छैन ।

    काँग्रेसको नेतृत्व कमजोर हुँदा बाह्य शक्तिले चलाउँछन् भन्ने आरोप लाग्दै आएको छ, के भन्नु हुन्छ ?

    तपाईँलाई म इतिहास स्मरण गराउँ नेपालमा जतिखेर जहानिय राणाशासन थियो, हामी नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादको सपना विपि कोइरालाले बोक्नुभो । हामीले राणाका विरुद्धमा आन्दोलन ग¥यौं । नेपालका राणाहरुको विरुद्धमा आवाज उठाउने नेपालमा कोहि व्यक्ति थिएनन् तर त्यो बेला नेपाली काँग्रेसले राणाहरुको सामुल अन्त्य गर्ने कुरामा लाग्यौं । नेपाली काँग्रेस इतिहास स्मरण गराऔँ, ‘बरु राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटी जोडिएको छ, भारतमा नेपालको दवाव स्वीकार्य छैन’ भनेर विपी कोइराला नेपाल पर्किनु भयो । जबकी उहाँलाई त्यो समय फासिको सजाय आउँदै थियो । राजद्रोहको ११÷१२ ओटा मुद्धा थियो र जेल हाल्ने कुरा थियो तर विपी कोइरालाले भारतमा बस्दिन भनेर नेपाल आएर राजा महेन्द्रसँग छलफल र संवादमा बस्नुभयो । मैले अघिपनि भने सुशिल कोइराला नेपालको प्रधानमन्त्रि हुनुहुन्थ्यो । त्यस्तो दुई तिहाईको प्रधानमन्त्रि होइन । सुशिल कोइरालाले यस्तो सुझबुझ राख्ने सामथ्र्य राख्नुभयो ।

    भारतले संविधान जारि नगर्–नगर् भन्दापनि संविधान जारि गर्ने पोजिसनमा हाम्रो नेता जानुभयो । त्यसैले हाम्रो इतिहास हाम्रो कर्मले हामीलाई विश्वास गरे हुन्छ नि । हामीले देख्यौं नि । हिजो राष्ट्रवादीको बेला भिडेको केपी ओलीले भारतबाट आएको विषदीयुक्त तरकारी, फलफुल, वनस्पति खाउ चेकजाँच गर्नु हुँदैन, ल्यावटेस्ट गर्न हुँदैन भनेर निर्णय गर्नुभयो । भारतको परराष्ट्रमन्त्रालयको एउटा पत्रले यस्तो निर्णय गर्नुभयो । हामीले देख्यौँ नि त, हिजो सामानको भन्सारमा सामानहरु चेकजाँच गरेर नेपालमा भित्रयाउनुपर्छ भनेका अड्डाहरु सरेका देख्यौँ नि त । भारतीय व्यापारी, दलालहरुसँग को झुक्यो, हामी झुक्यौँ ? हाम्रो इतिहास झुक्यो ? त्यसैले हामीलाई जुन आरोप छ, त्यो मिथ्या आरोप मात्रै हो ।

    पूर्वएमाले र पूर्वमाओवादीको एकताले अब नेपाली काँग्रेसलाई सत्ताको नजिक पुग्न नदिने विश्लेषण भइरहेको छ, के भन्नुहुन्छ ?

    कमशल सामान विकाउन बढी विज्ञापन गरिन्छ । हो, सम्माननीय प्रधानमन्त्रिज्यूको पार्टीलाई के डर छ भने यसपछि चुनाव हुँदा जित्छौँ कि जित्दैनौँ ? अहिले चाहिँ हामीसँग दुईतिहाईको सरकार छ भोलि यो अवस्था त के बहुमत पनि कुन्नि भन्ने त्यहीँ भित्र अहिले नै चर्चा सुरु भइसक्यो । नेपाली कँग्रेसको त के छ भने हामी यो सरकारको यस्तै तौरतरिका बढ्दै जाने हो भने जनताले फेरि काँग्रेसलाई सत्तामा पुर्याउनेछन् ।

    तपाईँले देखिरहनु भएको छ, यो सरकारको रवैया, देशलाई गृहयुद्धमा धकेल्ने प्रपञ्च, संघीयता विरोधी कदमहरु, बजेट वितरणको सिदान्तविरुद्ध कसरी काम भइराखेको छ । स्थानीय तह जहाँजहाँ काँग्रेसले चुनाव जितेको छ त्यहाँ उहाँहरुले वित्तिय सिद्धान्त विपरित बजेट खुम्च्याउनु भएको छ, भने जहाँ उहाँहरुको पार्टीले चुनाव जितेको छ त्यहाँ चाहिँ उपभोक्ताले काम गरेपनि हुने नगरेपनि हुने । हेर्नुस्, हम्रो प्रदेश सुदुरपश्चिममा हेर्नुहुन्छ भने प्रदेश सरकारले डिभिजन कार्यालयहरु राखेका छन् । जबकी यो मुलकमा स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको सरकार छ । तीन तहको सहकारिता, सहअस्थित्व र समन्वयमा चल्छ भनेर संविधानमा लेखिएको छ । संविधानको प्रस्तावनाले त्यो भन्छ तर उहाँहरुले आफ्नो कार्यकर्तालाई पाल्ने नियत राखेर थुप्रै ठाउँमा डिभिजन राख्नुभएको छ ।
    अछामको साँफेमा, धनगढिमा डिभिजन राखेर काम गरिराख्नुभएको छ । यस्तो खालको कामले संघीय संरचना संस्थागत हुन्छ ? अनि प्रमज्यूको उखान टुक्काले फेरि पनि दुइतिहाई ल्याएर कँग्रेसलाई यस्तै अवस्थामा राख्न सक्नु सपना मात्रै हो ।

    हामीले राणा र राजा तानाशाही र निरङ्कुश भए, राजाको ठाँटहरु आम नेपालीको हितमा भएन भनेर आवाज उठायौं । तर आज कम्युनिस्ट पार्टीको नेता मुलुकको राष्ट्रपति हुनुहुन्छ । उहाँलाई राजाभन्दा बढी सुविधा चाहिएको छ । १८ करोडको गाडी, हेलिकप्टर चाहिएको छ, तामझाम चाहिएको छ । के संघीय लोकतान्त्रिक गणतन्त्र भनेको त्यहि हो ? अनि कम्युनिष्ट आचरण पनि यही रहेछ ? यस्तै पाराले सत्ता टिक्छ त ?

    तपाईँहरुलाई रातमा विप्लव दिनमा कँग्रेस भएको आरोप लागेको छ नी ?

    यो एकदमै मिथ्या आरोप हो । नेपाली काँग्रेस कहिलेपनि हिंसाको राजनीतिमा विश्वास गर्दैन । नेपाली काँग्रेसले पनि सात सालमा जनमुक्ति सेना बनाएर आन्दोलन गरेको थियो । तर हामीले कहिलेपनि आम जनतालाई दुःख दिने काम गरेनौं । त्यसैले हामी हिंसामा विश्वास नगर्ने पार्टी र यस्तो कार्यमा हाम्रो असहमति छ ।

    त्यसैले हामीले सरकारलाई विप्लव पनि एउटा नेपाली हुन् र उनले विचारको राजनीति गर्छन् । हिजो सँगै राजनीति गरेका हुन्, हिजो तिमिहरुकै पार्टीको सदस्य थिए र आज राज्य वा तिमीहरुकै व्यवहारप्रति असहमति राखेर हिँडिराखेका छन् । त्यसैले विप्लवलाई संविधान बमोजिम चल्नलाई वार्ता र छलफल गर्नुपर्छ । विप्लवका कार्यकर्ता पनि नेपाली हुन् र तिनीहरुलाई संविधान विपरित इन्काउन्टरको नाममा हात बाँधेर गोली हानेर मार्ने कुरा वर्तमान सरकारका निम्ति नै प्रतिउत्पादक र देशका निम्ति दुर्भाग्य छ भनेका हौं । उहाँहरुलाई प्रश्न छ, नेपालको कानुनमा कहाँ लेखिएको छ हात बाँधेर मार्नुपर्छ भनेर । विद्रोही पक्षलाई छोप्यो, छोपेपछि उसलाई कानुन वमोजिम सजाय हुन्छ । जेल जाला वा संविधानमा के व्यवस्था छ त्यो गर्नुप¥यो । त्यसैले काँग्रेसले मार्न पाइँदैन, हिंसा गर्न पाइँदैन, देशलाई गृहयुद्धमा लान पाइँदैन भन्दा ‘रातभरि विप्लव दिनभरि काँग्रेस’ यस्तो आरोप मिथ्या भएपनि वर्तमान सत्ताधारीहरुको नियत कता छ भन्ने कुरा नेपाली कँग्रेसले गम्भीरताका साथ सश्लेषण गर्नुपर्छ ।

    अछामको कस्तो छ अवस्था ?

    अछाममा पनि त्यस्तै हो, जस्तो देशभरि छ । हिंसात्मक राजनीतिमा हामी विश्वास गर्दैनौं । संविधान, कानुन बमोजिम राज्य चल्नुपर्छ, देश चल्नुपर्छ । राष्ट्रका जिम्मेवार ओहोदामा बसेका मान्छेहरुले संविधानको मर्म, भावना र कानूनी राज्यको पालना गरेर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहन्छ । त्यसैले अहिले अशान्ति फैलिन्छ कि भन्ने मान्छेमा चिन्ता र चासो बढेको छ । सरकारले वार्ता र संवादको माध्यमबाट निकास निकाल्नुपर्छ भन्ने हाम्रो अधिकारीक धारणा पनि हो ।

    काँग्रेसको जनजागण अभियान कस्तो भयो ?

    पहिलो र तेस्रो पार्टी मिल्यो गणितीय रुपमा हामी कमजोर भयौं र संसदमा हाम्रो उपस्थिति कमजोर भयो । र स्थानीय तहमा पनि दईओटा पार्टी मिल्दाखेरी हाम्रो पोजिसन कमजोर देखियो । खासगरि कम्युनिस्ट पार्टीको सरकारले गरेका गतिविधिहरु जनता सामु पु¥याउने र त्यो सँगसँगै हाम्रो आन्तरिक किचलोहरु गुटगत राजनीतिहरु, व्यक्तिगत स्वार्थहरुलाई माझेर एउटा सुदृढ संगठन बनाएर जागरिलो काँग्रेस बनाउने कुरामा जागरण अभियान सन्चालन भएको हो र यो जागरण अभियान पनि पहिलो चरणको जागरण अभियान एकहदसम्म सफल भएको छ । र त्यसको पार्टीले समिक्षा गरिराखेको छ । गाउँगाउँमा काँग्रेसको कार्यकर्ताहरु जाने र आफ्नो सांगठनिक कुराहरु छलफल गर्ने, आफ्नो गतिविधिहरु कसरी अगाडि बढाउने भन्नेबारे छलफल गर्ने, राजनीतिक एजेण्डाहरु, समाज रुपान्तरणका एजेण्डाहरु, र समसामयिक अहिलेका राष्ट्रका गतिविधिका विषयहरु गाउँमा समिक्षा भएको छ । र यसले पार्टीलाई नयाँ जागरण वास्तवमा ल्याएको छ ।

    तर तपाईँहरुको पार्टी गुटगत राजनीतिमा बढी रुमलिएको छ जागरण अभियान विवादका कारण सोचेजस्तो सफल हुन सकेन काँग्रेसकै नेताहरुले भनिरहेका छन् नी ? 

    नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यहाँ खुलेआम विचार मन्थनको वातावरण छ, कम्युनिष्ट पार्टीमा जस्तो भन्दा फरक हुने कुरा भइहाल्यो, यहाँ पूर्ण स्वतन्त्रता हुन्छ । त्यसैले नेत कार्यकर्ता खुलेर आफ्ना कुरा राख्छन् चाहे जनता समक्ष होस् चाहे पार्टीभित्र । तर अहिले अलि बढी नै गुटगत राजनीति चल्यो भन्ने लाग्छ, तपाईँले भनेझैं गुटगत राजनीतिबाट नेताहरु निस्किन जरुरी छ, निस्किनुपनि पर्छ । जागरण अभियानले यो कम गरेको हामीलाई महसुश भएको छ । यो दोस्रो जागरण अभियानले थप काँग्रेसलाई जागरुक बनाउने हाम्रो विश्वास छ ।

    तपाईँकै सहकर्मी र नेताहरु भन्छन्, तपाईँले विद्यार्थी कि अम्बिका केन्द्रीय राजनीति छाडेर उप–मेयर बन्न पुग्नु भयो किन ?

    कतिपय कुराहरु दलिय व्यवस्थापनमा, सांगठनिक क्रियाकलापमा, पार्टीले गरेको निर्णयका आधारमा मान्नुपर्ने हुन्छ । राजनीति सरकार–सत्तामा पुग्नको लागि पनि हो । किनभने संगठनले पार्टीलाई सत्तामा–सरकारमा पु¥याउँछ, यस्तो कुरा पार्टीको घोषणापत्रअनुसार हुन्छ र यो सब हामीले चाहेको समाज निर्माण गर्नका लागि हुन्छ भन्ने हो । त्यसैले मेरो सन्दर्भमा मैले स्थानीय तहको निर्वाचनमा खासगरि नगरप्रमुखको टिकटको म दाबेदार थिएँ । म त्यहाँ चुनाव लडेर चुनाव जित्ने पोजिसन छ भनेर मैले नेता वा अग्रजहरुसँग छलफल गरेकी थिएँ । पार्टीले मलाई उपप्रमुखको टिकट दिएर चुनावमा लड्न पठाइसकेपछि । मैले पार्टीको टिकट फिर्ता गर्न सकिएन । पार्टीले दिएको टिकट अहिले फिर्ता गर्‍यो भने भोलि पार्टीमा के भविश्य रहने भन्ने कुरा पनि छलफलको विषयवस्तु बन्यो । पार्टीले मलाई चुनाव जित्नका लागि उम्मेदवार बन्नुपर्छ भनेर इच्छा नहुँदानहुँदै चुनाव लडियो र आम नागरिकले विश्वास गरे र अहिले चुनाव पनि जितियो । यि राजनीतिक घटनाक्रमका कुरा हुन् । हिजो नेपालका थुप्रै राजनितिज्ञहरु गाउँमा गएर चुनाव लडेँ । उहाँहरु अहिले सफल राजनीतिमा हुनुहुन्छ । त्यसकारण यसले चाहिँ धेरै ठूलो असर गर्छ भन्ने मलाई लाग्या छैन । पार्टीले टिकट दिएर चुनाव लड् भनिसकेपछि लड्नुपर्ने एउटा बाध्यता बन्यो ।

    अन्तिममा ?

    खास अहिले चाहिँ हाम्रो देशमा सातओटा प्रदेश सरकार छन् र संघीय सरकार छ । ७५३ ओटा स्थानीय तहका सरकारहरु चलिराखेका छन् । र हामी आम युवा विद्यार्थीको जसको संगठन नेपाल विद्यार्थी संघ नेतृत्वविहिन छ । जसले जहिलेपनि विद्यार्थी संगठनहरु राज्यसंग प्रतिपक्षको भुमिका निर्वाह गर्छन् किनभने विद्यार्थीहरु सचेत हुन्छन् । उनिहरुले राजनीति र समाज बुझेका हुन्छन् । त्यसैले सरकारको गतिविधिलाई जनपक्ष बनाउन विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने हुन्छ । आफ्नो माउ पार्टी सत्तामा होस् या प्रतिपक्षमा होस् । विद्यार्थी आन्दोलन त्यसरी अघि बढ्नुपर्छ । यो बेला दुईतिहाईको सरकार, दम्भ र घमण्ड भएको सरकारले विरोधी कामहरु गरिरहेका बेला नेपाल विद्यार्थी संघ जस्तो संगठन जसको नेतृत्वविहिन छ । यो समयसम्म हामीले गुटगत रुपमा टोलटोलमा आफ्ना गतिविधिहरु बढाएका छौं । जुन गतिविधिहरुलाई एकीकृत गर्नका लागि नेपाल विद्यार्थी संघलाई नेतृत्वमा ल्याउन जरुरी छ । यसमा नेतृत्व गम्भीर हुन जरुरी छ ।
    त्यो नेतृत्व सबैलाई मिल्ने खालको संगठन निर्माण गर्नका लागि पार्टीले तत्काल नेतृत्व ल्याउन जरुरी छ । त्यसैले यि कुराहरुलाई पनि हामी पार्टी नेतृत्वको ध्यानाकर्षण गराइराखेका छौं ।

    प्रतिकृया दिनुहोस्