गत शनिबार मध्यराति साढे १ बजे फोनको घण्टी बज्यो । गहिरो निन्द्रामा भएका कारण फोनको रेस्पोन्स हुने सम्भावना कम थियो । तर फोन लगातार फेरि पनि बजिरह्यो। उक्त फोन एकजना पत्रकार मित्रको थियो । आखिरीमा मध्यरातमा त्यसरी फोन आउनुको कारण पछि मात्रै खुल्यो कि काठमाडौंको एउटा घरमा सुतिरहेका माईला लामालाई प्रहरीले पक्राउ गरेछ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माईला लामामाथि मुठभेडका नाममा कुनै अप्रिय व्यवहार हुनसक्ने तर्फ चिन्तित र सचेत हुँदै पत्रकार तथा मानव अधिकारकर्मीहरुलाई घटनाका बारेमा जानकारी गराउने प्रयत्न भएको रहेछ । माईला लामा जति राजनीतिकर्मी हुन् त्यो भन्दा बढी उनी एक संगितकर्मि हुन्। जति मानिसले उनलाई विप्लव नेकपाको नेताका रुपमा चिन्छन् त्यो भन्दा बढीले एक कलाकारका रुपमा चिन्छन् । जतिले उनलाई विद्रोही पार्टीको नेताको रुपमा लिन्छन् त्यो भन्दा बढीले उनलाई जनयुद्धको एक घाइते योद्धा अझ भनौं जिउँदो सहीदको रुपमा लिन्छन्। हार्मोनियम बजाउन आवश्यक परेका बेला उनका हातका औंलाहरु चल्न मान्दैनन्। केही पर उभिएको मानिसलाई उनका आँखाले ठम्याउन सक्दैनन् । उनका कानले आवश्यक परेका सबै कुरा सुन्न सक्दैनन्। र पनि उनी आफ्नो घर, परिवार, निजी सुख-दुःख सबै कुरा त्यागेर आफूले आफ्नो ठानेको वर्ग, समाज र राष्ट्रको लागि समर्पित भएर लागेका छन्।
उसो त विप्लवको पार्टीमा लागे बापत या उक्त पार्टीलाई समर्थन गरे बापत राजनीतिक आस्थाका कारण पक्राउ पर्ने लामा पहिलो व्यक्ति होइनन् । पछिल्लो एक वर्षमा मात्रै सो पार्टीका एक हजार भन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार भए । पार्टी प्रवक्ता प्रकाण्ड देखि सल्लाहाकार समितिमा अध्यक्ष बयोबृद्ध नेता असारे काकासम्म पक्राउ परे । अस्पतालमा उपचाररत देखि परिवार, आफन्तको दाहसंस्कार प्रक्रिया जुटिरहेका मानिसहरू समातिए । पढाउँदै गरेका शिक्षकदेखि परीक्षा दिँदै गरेका विद्यार्थीसम्म प्रहरी हिरासतमा पुगाइए । बैठक बसिरहेका नेता कार्यकर्तादेखि घरायसी काममा जुटिरहेका परिवारका सदस्यसम्म पक्राउ गरिए । लिष्ट बनाएर खोजिएकादेखि जम्काभेटमा परेकाहरू हिरासतमा हाजिर गराइए। कहिलेकाहीं त अझ झुक्कीएर लेखक पत्रकार समेत पक्राउमा परे । पार्टीका केन्द्रीय नेतादेखि पार्टी सदस्य सम्म, पार्टी छोडिसकेका व्यक्तिदेखि सो पार्टीको बारेमा कुनै जानकारी नराख्ने मानिसहरू पक्राऊ परे । अहिले पनि नेकापाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्यहरु भरत बम र मोहन कार्की लगायत सैयौं नेता कार्यकर्ताहरु देशभरका विभिन्न हिरासत र कारागारमा बन्दी जीवन बिताइरहेका छन्।
०७५ साल फागुन २८ गते सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि राजनीतिक द्धन्द्ध बढ्ने आंशका र आंकलन गरिन थालिएको छ । चोक, चौतारी र चिया पसलमा सर्वसाधारणहरु चिन्तित र भएभित देखिन थालेका छन् । जनयुद्धको समयमा प्रत्यक्ष युद्धको पीडा भोगेका गाँउ बस्तीहरू एक हिसाबले चिन्तित जस्तो देखिन्छन्। जनयुद्धकालमा गाँउबाट विस्थापित काँग्रेस एमालेका नेता-कार्यकर्ताहरु अन्योलमा भेटिन्छन्। राजनीतिलाई नजिकबाट नियाल्नेहरुले नेपाली समाजले अर्को एउटा द्धन्द्ध झेल्नुपर्ने परिस्थिति निर्माण हुँदैगएको महसुस गर्न थालेका छन्। अर्थात यो भन्न सकिन्छ कि नेपाली राजनीतिक क्षितिजमा एउटा द्धन्द्धको झिल्को झुल्किदै गरेको स्पष्ट छ ।
ट्रट्रस्कीले एकपटक भनेका थिए-शत्रुको जस्तै मित्रको पनि निगरानी राख्नुपर्छ जस्तो कि राजनीतिमा हुन्छ । ट्रट्रस्कीको भनाइ आजको नेपालमा थप सान्दर्भिक बन्दै गएको छ । सरकार र सरकारद्धारा प्रतिबंधित नेकपाबीच बढ्दो तनाव। सत्तारूढ नेकपा र सरकारका विरुद्ध संघर्ष रत नेकपाका बीचमा सिर्जना हुँदै गएको अविश्वास तथा आशंका । कुनै समय सँगै लडेका र सँगै मर्न तयार भएका प्रचण्ड र विप्लवको विपरीत ध्रुवीय प्रतिनिधित्व। प्रचण्डलाई गद्धार घोषणा गर्दै उनका विरुद्ध मोर्चाबन्दी कसेर नयाँ पार्टी बनाएका बादल र विप्लवको एक अर्को विरुद्ध जस्तो देखिने क्रियाशीलता । समयले एउटा अन्योलपूर्ण र आशंकाको चौतारीमा उभिएर केही जटिल प्रश्नहरू तेर्स्याएको छ । सरल राजनीतिक निकासका लागि ती सवालहरुको निर्मम, कठोर र सत्य जवाफको खोजी गरिनु आवश्यक छ ।
जनयुद्धले निर्दिष्ट गरेका नीति, कार्यक्रम र गन्तव्यतर्फ आजको राजनीति परिलक्षित छ कि छैन ? जनयुद्धले स्थापित गरेका राजनीतिक मूल्य मान्यताप्रति जनयुद्धका नेतृत्वकर्ताहरु प्रतिबद्ध छन् की छैनन् ? जनयुद्धले तय निर्धारित गरेका लक्ष्यहरू आधारभूत रुपमा पूरा भए कि भएका छैनन् ? अहिलेको राजनीतिक उपलब्धि मात्रै हासिल गर्नका लागि दशौं हजारको बलिदान आवश्यक थियो कि थिएन ? बस्ने बास पाउने सपनामा जनयुद्धमा योगदान पुर्याएको सुकुम्बासी बस्तीले मानवबस्ती को मान्यता पायो कि पाएन ? भूमिहीन किसानहरूले जग्गा पाए कि पाएनन् ? आर्थिक असमानता घट्यो कि झन् बढिरहेको छ ? के जनयुद्धमा आफ्ना प्रियजन गुमाउने सहीद-बेपता परिवारहरू राजनीतिक परिदृश्य प्रति सन्तुष्ट छन् ? घाइतेहरुले ससम्मान जीवन बाँच्ने अवसर पाएका छन् ? जनमुक्ति सेनामा भर्ना भएर लडेका युवाहरु अहिले खाडीमा कस्तो कष्टपूर्ण जीवन व्यतीत गरिरहेका छन् र जनयुद्ध तथा प्रचण्डका बारेमा उनीहरूको धारणा के छ ? के विप्लव नेकपासँग विभिन्न ढंगले आवद्ध मानिसहरू सत्ताको पेरीफेरिमा आफ्नो स्थान नदेखेर या व्यक्तिगत रुपमा विप्लव मन परेर त्यहाँ केन्द्रित भएका हुन् त ?
सरकार दमन,धरपकड र गिरफ्तारको घेराभित्र नियन्त्रणमा राखेर आत्मसमर्पणको छेउमा वार्ता गराउन चाहन्छ । विप्लव कम्तिमा पनि दुईटा बिषयको आधारभुत रुपमा न्युनतम सम्बोधन बिना पछि फर्किने मनस्थितिमा छैनन् । पहिलो,जनयुद्धको अवतरण र दोस्रो बैज्ञानिक समाजवादतर्फको यात्रा । जनयुद्धले स्थापित गरेका राजनितिक एजेन्डाहरु जसलाई विभिन्न सम्झौताका माध्यमबाट स्वीकार गरिएको थियो । ६ बुदे रोल्पा सम्झौता, बिस्तृत शान्ति सम्झौता लगायतका राजनीतिक सहमतिबाट कांग्रेस एवं तत्कालीन एमाले पछि हट्दै धोका दिएको र प्रचण्ड बाबुराम समेत त्यसबाट विचलित भएको विप्लवको बुझाइ देखिन्छ । सहिद, बेपत्ता, घाइते तथा जनमुक्ति सेनाका बारेमा लिइएका निर्णयदेखि पुनर्स्थापित संसदीय व्यवस्थाप्रति उनी असन्तुष्ट छन् ।बैज्ञानिक समाजवादी राज्य व्यवस्था विप्लवको अर्को राजनीतिक एजेन्डा हो । सामान्यतया राजनीतिक शक्तिले तीनवटा बिधिमार्फत आफ्ना एजेन्डाहरु स्थापित गर्ने प्रयत्न गर्छन् – जनताको मत, शान्तिपुर्ण संघर्ष र सशस्त्र क्रान्ती । विप्लवले यी तीन वटै विकल्पमा आफूलाई खुल्ला राख्ने प्रयत्न गरेका छन् ।
संसारभर कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिरहेको बेला नेपालमा संयोग यस्तो परेको छ सत्ता सञ्चालन र सत्ताको विरुद्धमा संघर्षरत कम्युनिस्ट पार्टी नै छन् । अझ दुइटैको नाम पनि लगभग एउटै छ । कम्युनिष्ट घोषणा-पत्रको जगमा टेकेर विप्लव नेकपाले उठाएका राजनीतिक एजेन्डामा नेपाली काँग्रेस भन्दा हँसियाहथौडाको झण्डा बोकेर सत्तामा पुगेको डबल नेकपाले बढी पुर्वाग्रह राखेको देखिन्छ । डबल नेकपाभित्र पनि पुर्व एमाले पंक्ति भन्दा पुर्व माओवादी पंक्ति विप्लव नेकपाबाट थप त्रसित देखिन्छ। विप्लव नेकपाका नेताकार्यकर्ताको बढ्दो गिरफ्तार देखि तिर्थ घिमिरे र कुमार पौडेलको ‘हत्या’ प्रकरणले यो कुराको पुष्टि गर्न मदत गर्दछ । एकथरी पुर्व माओवादीहरु विप्लव नेकपाका नेता कार्यकर्ता गिरफ्तार गराउन सुराकिमा लागिपरेको कुरा पनि उठ्ने गरेकै छ । बाटोमा पुर्वकमरेडहरु जम्काभेट हुँदा बाटो मोडिएर हिड्नुपर्ने अवस्था आएको छ । केही बर्ष अघिसम्म आफैले आदर्श मानेको नेताले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका बेला ‘फेक’ इन्काउन्टरको नाममा मारिनसक्ने समय आएको छ । कुनै बेला प्रचण्डले सिकाएका राजनीतिक एजेन्डालाई समर्थन मात्रै गर्दा पनि प्रचण्डबाट निर्देशित सरकारले राज्य विप्लवको सजाय दिनसक्ने परिस्थिति निर्माण भएको छ ।
हिजो संगै लडेका कमरेडहरु आज एक अर्कोदेखी डराएका छन् । सत्तामा आसिन कमरेडहरु सडकका कमरेडहरुको हिडाइबाट डराएका छन् । उनीहरुले बोल्ने आवाजसँग तर्सिएका छन् । उनिहरुले उठाएका एजेन्डाबाट आफ्नो सत्ता असुरक्षित देख्न थालेका छन् । सडकमा गाइने गितहरुमा सत्ता धर्मराउने संगीत भरिएको महसुस गर्न थालेका छन् । कागजमा लेखिएका अक्षरलाई सत्ताका बिरुद्ध उठाएको बन्दुक देख्न थालेका छन् । त्यसैले ती कमरेडहरु सडकका कमरेडहरुमाथी दमन गर्दै सडक खाली पारेर सत्ताको रथमा सुरक्षीत स्थानको खोजी गर्न तम्सिएका छन् । जसले आफुलाई बिर्सिएका छन्, उनीहरु तर्सिएका छन् र अरुमाथी बर्सिएर आफ्नो शासन टिकाउने असफल योजना बोकेर मैदानमा निस्किएका छन् । कुनै जंगलमा सिंहले लखेटिरहेको मृगले आफ्नो डरलाई स्वभाविक ठानेर गति बढाउने निधो गर्छ होला नेपालमा सडकका आफ्नै कमरेडदेखि सत्ताका कमरेड डराएको बेला !