
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति इलोन मस्कबीचको सम्बन्ध दुश्मनीमा परिणत भएको छ । ट्रम्प चुनावी मैदानमा हुँदा मतदातालाई भोट हाल्न दैनिक करोडौं खर्च गरेका थिए ।
मस्कले ट्रम्पलाई चुनाव जिताउन पैसा बाँडेको विषय अदालतसम्म पुगेको थियो तर अदालतले पनि रोक लगाउन सकेन ।
ट्रम्पले चुनाव जितेर पदभार ग्रहण गरेपछि टेस्ला प्रमुख रहेका मस्कलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख बनाएका थिए । यो विभागले सरकारी खर्च व्यापक रुपमा कटौती गरेको थियो ।
ट्रम्प–मस्कबीचको सम्बन्ध सामाजिक संजालमा पोखिएको छ । दुबै जनाले बिहीबार राति सामाजिक सञ्जालमा एक अर्कालाई गाली समेत गरेनन् । महाभियोग र पागल भएको आरोप समेत लगाए ।
डज विभाग छोडेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनसमेत माग गरेका छन्। उनले उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने टिप्पणी गरेका छन्।
मस्क यतिमै रोकिएनन्, ट्रम्पको नाम जेफ्री एपस्टाइनसँग पनि जोडेका छन्। जुन व्यक्ति यौन दुर्व्यवहार र किशोरीको बेचबिखन मुद्दामा दोषी ठहर्याइएका छन्।
मस्कले ट्रम्पको नाम एपस्टाइनका फाइलहरूमा रहेको दाबी गरेका छन्। यही कारण ती फाइल सार्वजनिक नगरिएको जिकिर उनले गरेका छन्।
त्यसको जवाफमा ट्रम्पले मस्कका कम्पनीसँग गरिएका सरकारी सम्झौता र दिने गरिएका अनुदान अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कलाई पागल भइसकेको समेत बताएका छन्।
डज छाडेको घोषणापछि मस्कले ट्रम्पको घरेलु नीति र कर विधेयकको आलोचना गरेका छन्। ट्रम्पले ‘बिग ब्युटिफुल बिल’ भनेर प्रचार गरिरहेका विधेयकलाई मस्कले धेरै नराम्रो भनेपछि सामाजिक संजालमा दुबै जनाबीच वाकयुद्ध भएको छ ।
मस्कले ट्रम्प र उनका सहयोगीका पुराना टिप्पणी पनि सामाजिक सञ्जालमा सेयर गर्न थाले, जसमा उनीहरूले अमेरिकी सरकारको बढ्दो खर्च र घाटामा चिन्ता व्यक्त गरेका छन्।