
दैलेखको महाबु गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश थापामाथि अवैध तरिकाले क्रसर सञ्चालन गर्दै खोला दोहन गरेको आरोप लागेको छ । स्थानीयका अनुसार, थापाले नारायण नगरपालिकाको कोटिला दोभानदेखि छामघाँट खोलासम्म स्काभेटर प्रयोग गरी दिनरात गिट्टी–बालुवा उत्खनन गराइरहेका छन । यद्यपि, नारायण नगरपालिकासँग २०८१ पुस १९ गते ‘महाबुसिंह कन्स्ट्रक्सन’मार्फत ५० घनमिटरसम्मको उत्खननको सीमित अनुमति मात्र लिएका छन । तर वास्तविकता भने दैनिक सयौं घनमिटर उत्खनन भइरहेको छ, जुन वातावरण संरक्षण ऐन २०७६ र क्रसर उद्योग मापदण्ड २०७७ विपरीत हो । यस्तो कार्य गर्न विस्तृत वातावरणीय मूल्याङ्कन ईआए अनिवार्य भए पनि प्रक्रिया नअपनाई क्रसर सञ्चालन गरिएको छ । क्रसर कुनै निकायमा न त दर्ता नै छ न नविकरण नै छ । उनले पहुचको आधारमा सवै निकायमा सेटिङ मिलायर काम गरिरहेका छन ।
जिल्लाका सरोकारवाला निकाय भने यस विषयमा मौन देखिएका छन । थापाले मापदण्ड विपरित खोलामा स्काभेटर प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ ।
क्रसर बस्ती नजिकै र सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको छ । मणासैन सामुदायिक वनमा निर्वाध सञ्चालन भइरहेको क्रसरमा डिभिजन बन कार्यालयको समेत संलग्नता रहेको आरोप छ ।स्थानीयले पटक–पटक गुनासो गर्दा पनि वडा अध्यक्षले दादागिरी शैलीमा प्रतिक्रिया दिएका छन । जिल्ला समन्वय समिति, नारायण नगरपालीका, जिल्ला प्रशासान कार्यालय पनि यो कामबारे मौन छन । क्रसर भएको ठाउँ नजिकै मानव बस्ती, विद्यालय र धार्मिक स्थल छन, जुन मापदण्ड विपरीत हो । उद्योग सञ्चालन गर्दा वातावरणीय प्रारम्भिक परीक्षण (IE) वा विस्तृत मूल्याङ्कन (EIA) अनिवार्य हुने कानुनी प्रावधान भए पनि ती पालना गरिएको छैन ।
वडाअध्यक्ष थापाले यस विषयमा बुझ्दा आरोप लागेजस्तो नभएको बताएपनि कतिपय आफुबाट कमजोरीहरु भएको स्वीकार गरेका छन । काम अन्तिम समय भएकोले कानुनी रुपमा के कति मापदण्ड भन्दा पनि आफुले काम गरेको उनको जवाफ छ । स्थानीयले भने वडाअध्यक्षले अगामी केही समयसम्म मात्रै अव सम्झौता रहेकोले दिनरात ढुङ्गा,गिट्टी,बालुवा उत्खनन गरिरहेको बताएका छन । सम्बन्धित निकायको मिलेमतोमा अवैध उत्खननलाई संरक्षण गरिएको आरोप उनिहरुको छ ।