
काठमाडौं । साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भई ४ चालक दलका सदस्यसहित ४६ जना रहेको यात्रुबाहक विमान भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।
सो दुर्घटनामा परी चालक दलका २ ले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छ ।
एएन–२४ कलसाइन रहेको उक्त विमान उलान-उडबाट आएको थियो । उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो ।
आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो । बिमानमा सवार अन्य यात्रुको उद्वार गरिएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ । विमानमा ४ चालक दलका सदस्यसहित ४६ जना रहेको मस्को टाइम्सले जनाएको छ ।