
सर्लाही । सर्लाहीको दक्षिणी भेगमा पर्ने पर्सा गाउँपालिकामा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।
ब्रह्मपुरी गाउँपालिका-२, ब्रह्मपुरी गाउँका २४ वर्षिय सदाम साह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार राती सदरमुकाम मलङ्गवाबाट साइकलमा ससुरालीतर्फ जाँदै गरेका उनी जिल्लाको पर्सा गाउँपालिका-३, नारायणपुर गाउँमा बेहोस भइ ढलेका थिए । उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि अस्पतालमै राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सर्लाहीसहित तराई मधेसका जिल्लामा दिनानुदिन बढ्दो गर्मीले जनजीवन प्रभावित भएको छ । चर्को घाम र तातो हावाले मानिसलाई घर बाहिर निस्कनै मुस्किल पर्न थालेको छ । पर्याप्त पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्दै गएका छन् ।