काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्दै गर्दा नेपाल श्रीलंका हुँदैछ भन्दै एकथरी अर्थविद्हरुले हल्ला चलाएका थिए । हुन पनि विदेशी विनिमय सञ्चिति सबैभन्दा कम रहेको थियो । केही संचारमाध्यम र विश्लेषकहरुले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र समाल्न नसक्ने, आयत रोकिएर नागरिक श्रीलंकामजस्तै गरी सडकमा आउने, सिंहदरबार र बालुवाटारबाट शासकहरुलाई गलत्याउने विश्लेषण गरेका थिए । उनीहरुको उक्त मनगढन्ते विश्लेषण एकपछि अर्को झुट सावित हुँदै गयो ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको लागि आफैले नेपाल राष्ट्र बैंक, निजि क्षेत्र, व्यावसायी, उद्योगी, निर्माण क्षेत्रका सम्बन्द्ध सरोकारवाला निकायसँग पटकपटक छलफल गरे । प्रधानमन्त्री सरकारी खर्च कटौतीदेखि ओभर स्टाफिङ कम गर्नेलगायतका सबै उपाय लगाएर ओरालो लागेको अर्थतन्त्रलाई उकालोतिर फर्काएका थिए ।
श्रीलंका बन्दबाट जोगिएर उभो लागेको नेपालको अर्थतन्त्र प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वबाट बिदा हुँदैगर्दा सबै सूचक उल्लेख्यरुपमा सबैले देख्ने गरी सुधार भएका छन् । विदेशी विनिमय पनि झण्डै २० खर्ब पुगेको छ । त्यस्तै व्यापार घाटा पनि थोरै भएपनि घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको पछिल्लो आर्थिक स्थितिको तथ्यांकअनुसार आर्थिक सूचकहरू सकारात्मक दिशातिर लम्किँनुको साथै महंगी पनि घटेको छ । केन्द्रीय बैंकका अनुसार जेठसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको छ । शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड छ । सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड छ ।
चालू आर्थिक वर्षको जेठसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत कायम छ । गत वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो ।
त्यसैगरी राष्ट्र बैंकले सार्वजनिक तथ्याङ्कअनुसार चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको छ । जेठसम्म २ खर्ब ३९ करोडले चालु खाता बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।
११ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो । त्यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंका अनुसार विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १४ अर्ब ७२ करोड पुगेको छ । यो नेपाली रुपैयाँ १९ खर्ब ६७ अर्ब १९ करोड हुन आउँछ । यसअघि वि.सं २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको थियो । यो अवधिमा २७.८ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो भने २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ जम्मा भएको छ । यो अवधिमा विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
प्रचण्डले सरकारको नेतृत्व गरेपछि हुण्डी कारोबारलाई निरत्साहित गर्ने र वैधानिक बाटोबाट रेमिट्यान्स पठाउन सहज वातावरण बनाइएको थियो । त्यसैको परिणम हो एकपछि अर्को रेमिट्यान्समा नयाँनयाँ रेकर्ड बन्दै गएका छन् ।
राष्ट्र बैंका अनुसार पछिल्लो ११ महिनाको अवधिमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको देखिएको छ ।
त्यसैगरी कुल वस्तु व्यापार घाटा पनि घटेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।